राष्ट्रिय महिला कबडीको उपाधिमाथि धनुषाको कब्जा

राजविराज, २२ असार । सप्तरीको राजविराजमा सञ्चालित प्रथम राष्ट्रिय महिला आमन्त्रण कबडी प्रतियोगिताको उपाधिमाथि धनुषाले कब्जा जमाएको छ । बुधवार भएको अन्तिम खेलमा झापालाई २७ का विरुद्ध ४४ अंकको अन्तरले हराउँदै धनुषाले उपाधिमाथि कब्जा जमाएको हो ।

वडा नम्वर–८ स्थित राधाकृष्ण मन्दिर परिसरमा रहेको मैदानमा भएको फाइनल खेलमा जितसँगै धनुषाले ट्रफी र नगद ५० हजार हात पारेको छ । उपविजेता झापाले नगद ३५ हजार र ट्रफी पाए ।

फाइनल खेलको ओमेन अफ द म्याच धनुषाकी विद्या साह घोषित भइन । यस्तै वेस्ट रेडर झापाकी राधिका कुँवर र वेस्ट डिफेन्डर धनुषाकी सिता साह घोषित भइन । कबडी खेलमा महिला सहभागिता बढाउन र नयाँ नयाँ प्रतिभा खोज्ने उद्देश्यले आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनुषा र सप्तरीका गरी कुल छ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिता समाप्ती पछि जिल्ला कबडी संघका अध्यक्ष धिरेन्द्र वर्मा ‘धिरु’को अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका मेयर भिमराज यादव, प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक एवम् अखिल नेपाल कबडी संघका कोषाध्यक्ष अरविन्द झा, सचिव रतिया राजवंशी, जिल्ला उपाध्यक्ष अखिलेश झा लगायतले विजेता उपविजेतालाई पुस्कार वितरण गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस