मिटरब्याजी प्रकरणः दाजुबहिनी कारागार चलान, बुवा रामदेव अझैं फरार

राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले मिटरब्याजी प्रकरणका दुई आरोपित (दाजुबहिनी) लाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

न्यायाधिस सुर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधवार अबेर साँझ ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको हो ।

अघिल्लो दिन मंगलबार दुवैको वयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक वहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।

आदेशसँगै दाजुबहिनीलाई राजविराज कारागार पठाइएको छ । कारागार चलान भएका नन्दकिशोर र अनुराधा ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका साहुकार रामदेव साहु तेलीका छोराछोरी हुन् ।

सोही मुद्दमा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी समेत भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । साह परिवारमाथि जग्गा बन्धकी राखि चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गरिसक्दा समेत धिँतो फिर्ता नगरेको आरोप छ ।

सप्तरीकै ९ जनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा अपराधिक विश्वासघातका मुद्दा चलाइएका हुन् ।

यता, संयुक्त रुपमा मुद्दा दिइएकाहरुले थुनछेक बहस चलिरहदा अदालतको मुल ढोकामा बुधवार पनि प्रदर्शन तथा नाराबाजी गरेका थिए । अघिल्लो दिनदेखि नै न्यायको माग गर्दै उनीहरु प्रदर्शन तथा नाराबाजी गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस