तस्करीको केन्द्र गोबरगाढाः दैनिक ३ लाखको मदिरा तस्करीपछि २८ लाखमा विक्री

राजविराज, २५ साउन । वर्षेनी वर्षायाम सुरु भएसँगै सप्तकोशी नदीको बाढीले बस्ती नै तहसनहस पारेर स्थानीयलाई ज्यान जोगाउनै हाम्यहाम्य हुने गरेको ठाउँ हो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु ।

ज्यानै धरापमा पारेर बसोबास गर्दै आएका त्यहाँका सर्वसाधारणको दैनिकी निकै नै कष्टकर छ । तर, दशगज्जा क्षेत्रमा अवस्थित सो टापु केहीका लागि भने मदिरा ‘तस्करीको केन्द्र’ रहेको खुलेको छ । सो टापु हुँदै दैनिक २८ लाखभन्दा बढी रुपैयाँमा मदिरा तस्करी हुँदै आएको खुलेको हो ।

राति राति ६ नम्वर र ८ किलो नौंज (डुङ्गा खुल्ने ठाउँ)बाट डुङ्गामा राखेर गोबरगाढा टापुसम्म पु¥याइने कार्टुनका कार्टुन मदिरा दिउँसो घोडामा लादेर भारततर्फ पठाउने गरेका छन् । ‘वर्षौदेखि यहाँका पाँच परिवारको मुल व्यवसाय नै दारु (मदिरा) वारपार गर्नु हो, दैनिक ३ सयभन्दा बढी कार्टुन दारु भारत पठाइन्छ’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने–‘यहाँ १ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको दारुको कार्टुन भारतमा ९ हजार रुपैयाँसम्ममा विक्री हुने गर्छन, के कति रुपैयाँको कारोबार हुन्छ? भन्ने कुरा तपाई आफैं हिसाब गर्नुहोला ।’

उनका अनुसार ३० वटा बोतल रहने गरेको एउटा कार्टुनको मूल्य १ हजार नेपाली रुपैयाँ अर्थात ३३ रुपैयाँ प्रति बोतलको मूल्यमा खरिद गरेर ल्याइएको मदिरा २ सय भारु अर्थात ३२० रुपैयाँसम्ममा विक्री हुने गर्छन् ।

दैनिक ३ लाख रुपैयाँमा खरिद गरेर ल्याइएको मदिरा २८ लाख ८० हजार रुपैयाँमा विक्री गर्दैआएका छन् ।

तस्करलाई वडाध्यक्षको संरक्षण

वडाध्यक्ष कुशेश्वर यादवले मदिरा तस्करी गर्दैआएकाहरुलाई संरक्षण दिएको स्थानीयहरुको दावी छ । ‘तस्करीको विषय राजनीतिक इस्सु हो, भोटसँग जोडिएकोले वडाध्यक्ष यादवले संरक्षण दिँदै आएका छन् भने खोज्दै जानु तस्करीमा संलग्न व्यक्ति उहाँकै आसेपासे हुन्’ स्थानीयले भने–‘यहाँको सञ्जाल तपाईले सोँचे जस्तो सहज छैन्, तपाई यहाँबाट जाने वितिकै समाचार नआओस् भन्नका लागि हरसम्भव कोशिस हुन्छ, समाचार नलेखेपनि केही छैन् तर मेरो नाम कसैलाई नबताइदिन अनुरोध छ ।’

वडाध्यक्ष यादवले भारततर्फ पुर्याउने कार्य नहुनुपर्ने हो तर भइरहेको छ भने त्यसमा आफ्नो कुनै पनि किसिमको संरक्षण वा संलग्नता नरहेको बताए । ‘हुन त २ जनाले २ पेटी (१२ पिस) मदिरा ल्याउने लाइसन्स लिएको छ तर उहाँहरुकासाथै सवैलाई भन्दिएको छु, कसैले कानून विपरित कार्य गर्छौ भने सजाय भोग्नुपर्छ भनेर’ उनले भने–‘त्यसमा मेरो कुनै संरक्षण वा संलग्नता छैन् ।’

तस्करसँग असुली

स्थानीयहरुका अनुसार विगत ५/६ वर्षदेखि गोबरगाढा हुँदै भारततर्फ मदिरा तस्करी हुँदै आएको छ । बीओपी तिकुलियाका इन्चार्ज इन्स्पेक्टर देवराज पोखरेल र हवलदार सचिन्द्र यादवले तस्करहरुसँग असुली गर्दै आएका छन् । ‘महिनामा उहाँहरु दुई पटकसम्म आउनुहुन्छ र लाइन दिएवापत १०÷१० हजारका दरले सबै (तस्कर)सँग उठाउनुहुन्छ’ उनले भने–‘लाइन मिलाउनमा मुख्य भुमिका भने सचिन्द्रले निर्वाह गर्दैआएका छन्, त्यो रकम सम्भवतः प्रहरीका उच्च अधिकारीसम्म पनि पुग्ने गर्छन् । नभए वर्षैदेखि जता सरुवा भएर गए पनि फेरी यहीँ क्षेत्रमा कसरी आउनुहुन्छ? तपाई प्रहरी अधिकारीलाई सोध्नुहोला ।’

इन्स्पेक्टर पोखरेलले असुली गरिहेको विषयलाई गलत रहेको बताए । ‘हाम्रो एरिया रहेकोले मेरो नाम आएको हुनसक्छ तर त्यो गलत हो, मैले एक रुपैयाँ पनि कसैसँग लिएको छैन् र हवलदार पनि हाम्रो बीओपीको होइन्’ उनले भने–‘मदिरा सुनसरीतर्फबाट पनि त्यो बस्तीसम्म पुगेको हुनसक्छ ।’

उता, सशस्त्र प्रहरीका एसपी प्रदिप खड्काले तस्करलाई सघाएको पाइए कारवाही गर्ने बताए । ‘पैसा उठाएको कुरा त नहोला तर गरेको रैंछ भने संलग्नलाई कारवाही हुन्छ’ हवलदार यादव हाम्रै प्रहरी रहेको स्वीकार गर्दै उनले भने–‘तस्करलाई सघाएको पाइए कारवाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सो विषयमा निगरानी गर्न प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको बताए । ‘म समक्ष समान्य जानकारी आएसँगै प्रहरी प्रमुखहरुलाई निगरानी गर्न भनिसकेको छु, तस्करीमा संलग्नलाई कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी राख्दैनौं’, उनले भने । नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस