दलित समुदायद्वारा प्रदर्शन, राम हत्याका दोषीलाई कारवाहीको माग

राजविराज, ४ असोज । राष्ट्रिय दलित जागरण अभियान नेपालले दलित हत्या घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै मंगलबार राजविराजमा प्रदर्शन गरेका छन् । अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीका सहभागीहरुले अदालत सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि २०७७ असार २९ गते ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएको छ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए ।

जिल्लाको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका त्रिभुवन हत्या घटनामा पक्राउ परेका सोही ठाउँका प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पुर्पक्षका लागि कारागार छन् । मृतक त्रिभुवनकी पत्नी घुरनी देवी रामले यसअघि सोमवार मात्रै पत्रकार सम्मेलन गर्दै न्यायको गुहार गरेकी थिइन् ।

छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पति त्रिभुवनको पनि हत्या भएको भन्दै दोषीहरु छुट्नसक्ने सुनेपछि न्याय गुहार्न बाध्य भएको घुरनी देवीको कथन छ । ‘२०७५ सालमा छिमेकीहरु बबी चौधरी, मनोज साह, अर्जुन साह, एथलेटिक चौधरीसहित ५ जनाले आफ्नी १४ वर्षीया छोरीमाथि सामुहिक बलात्कार गरे, न्यायका लागि आफुहरु कानूनी बाटोमा लागेका थियौं’ उनले भनिन्, ‘कानूनी लडाइ लडिरहदा आफुहरुलाई ज्यानै मार्नेसम्मको धाकधम्की आइरहेको थियो तर पनि आफुहरु पछि हटेनौं ।’

बलात्कार घटनामा संलग्नका आफन्तहरुले दिएको धम्की नै अनुसार २०७७ असार २९ गते पति त्रिभुवन रामलाई वेपत्ता पारेको उनले बताइन् । ‘त्यसको भोली पटक असार ३० मुतनी नदीमा पतिको शव फेला पर्यो, टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको शवको अवस्था थियो’ उनले भनिन्, ‘प्रहरीले अनुसन्धान थाले र १६ दिनपछि ४ जनालाई पक्राउ पनि गरे ।’

घटना गराउने ३ जना अझै फरार रहेको भन्दै घुरनी भनिन्, ‘यता पुर्पक्षका लागि कारागारमा रहेकालाई यी चारै जनालाई धरौटीमा छाड्ने गाउँभरि नै हल्ला छ । उनीहरु छुट्यो भने हामीलाई पनि मारेर छाड्छ, हामी मर्न तयार छौं तर न्याय नपाउने विषयले पिरोलेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस