बोर्डरमा घुमुवा प्रहरीको आतंकः मासिक असुली, बरामदित सामान पनि बाटोमै गायब

राजविराज, ५ असोज । सप्तरीस्थित बेल्ही नाकामा घुमुवा प्रहरीले असुलीको आतंक मचाएको खुलासा भएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित सो नाकामा खटिएका घुमुवा प्रहरीले मासिक असुली दर बढाएपछि मंगलबार साँझ एक व्यापारीले पत्रकार सम्मेलन नै गरेर सो बारे खुलासा गरेका हुन् ।

‘यसअघि ५ महिनादेखि घुमुवालाई १५ हजारका दरले बुझाउँदै आएकी छु, महिना दिनअघि मात्रै भागे नाम गरेका घुमुवालाई २० हजार बुझाउनुपर्यो’ पत्रकार सम्मेलनमा सोनी खातुनले भनिन्, ‘रकम नबुझाएपछि भन्सार तिरेर ल्याइएको समान पनि जफत गरेर अनाहकमा दुःख दिन्थ्यो, अनि बुझाउन बाध्य थिए नै । अब भागेले मासिक नै २० हजार माग्न थालेछन्, त्यो तिर्ने अवस्थै छैन् ।’

भारतबाट थोरथार साडी ल्याएर नेपाली बजारमा विक्री गरी बालबच्चाको लालनपालन गर्दै आएकी बताउँदै खातुनले असुलीको रकम बढाएपछि सो रकम तिर्न नसक्दा भन्सार तिरेर ल्याइएको साडी पनि जफत गरेका कारण समस्या परेको दुखेसो गरिन् । ‘भन्सार तिरेकै छु, थप यत्रो रकम घुमुवालाई कहाँबाट तिर्नसक्नु? बाध्य भएर पत्रकार सम्मेलन गर्नुपर्यो’ उनले भनिन्, ‘रकम नबुझाएपछि पछिल्लो पटक आफ्नो १ सय वटा साडी अनाहकमै जफत गरिहाल्यो, आफुसँग भन्सार तिरेको शुद्ध रसिद पनि छ ।’

उनले रसिद देखाउँदै जति आग्रह गर्दा पनि घुमुवाले नमानेको गुनासो गरिन् । ‘एसपीसम्मलाई बुझाउनुपर्छ रे, रसिदले मात्रै हुँदैन, थप रकम नतिरेपछि कुनै पनि समान लान मिल्दैन भन्छन्’ उनले भनिन्, ‘पछि जिल्ला प्रहरी कार्यालयमा पुगेर एसपी सा’बलाई पनि आग्रह गरे तर उहाँले पनि घुमुवासँगै कुरा गर्न भन्नुभयो, हामी जस्ताको लागि एसपी सा’बले पनि सुनुवाइ गर्नु भएन ।’

सो बारे भन्सारका हाकिमलाई पनि कुरा गरेको बताउँदै खातुनले भन्सारमा घुमुवा विरुद्ध निवेदन समेत दिएको बताइन् । ‘घुमुवाको आतंकले आफ्नो परिवारको त पेट भर्ने उपाय नै रोकिन्न पुग्यो हजुर’ उनले भनिन्, ‘व्यापार रोकिएपछि गुजारा चलाउनै मुस्किल परेर न्याय गुहार्न आएकी हुँ, पहलका लागि सबैलाई आग्रह छ ।’

बरामदित समान पनि बाटोमै गायब

भागे भनिने भाग्यनारायण साह जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी जवान पदमा कार्यरत छन् । खातुनका अनुसार विश्वकर्मा पूजाका अघिल्लो दिन (भदौ ३१ गते) सादा पोशाकमा रहेका प्रहरी जवान १ सय वटा साडी बरामद गरेका थिए ।

तर, सोमध्ये ३५ वटा साडी मात्रै जिल्ला प्रहरी कार्यालयमा बुझाएको खातुनको आरोप छ । ‘जिल्लामा पुग्दा मैले सो साडीबारे जिकिर गरेका थिए । सोही क्रममा ३५ वटा साडी मात्रै जिल्लामा आइपुगेको छ रे’ उनले भनिन्, ‘अन्य ६५ वटा साडी बाटोमै गायब भएको कुरा मैले जिल्लामा कराएर भनेकै थिए, तर कसैले वास्ता नै गर्नुभएन ।’

जवान साहले भन्सार छलि गरी ल्याइएको समान बरामद गरेपछि त्यस्तो आरोप लगाएको बताए । ‘मैले कसैसँग पनि पैसा लिएको छैन् र भन्सार छलि गरी ल्याइरहेका सबै समान जिल्लामै बुझाएको छु’ तपाईको जिप्रकामा दरबन्दी छ । सादा पोशाकमा बोर्डर पुग्नुपर्ने कारण चैं? भन्ने प्रश्नमा जवान साहले भने, ‘भेटेर कुरा गरौं न सर, म आफ्नो कमाण्डरसँग कुरा गराइदिन्छु, कानून विपरित हामीले केही गरेको छैन भनेर ।’

उता, प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले कुनै पनि प्रहरीले कानून विपरित कार्य गरेको पाइए कारबाही गर्ने बताए । ‘उहाँ घुमुवा त होइन, सूचना संकलनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हुन्, भन्सार छलि गरी ल्याइएका थुप्रै कपडाहरु हामीले बरामद गरेका छौं र उहाँ (व्यापारी) एक पटक भन्सार तिरेर पटक–पटक समान ल्याइरहेकी बुझिएको छ’ उनले भने, ‘ती समानहरु बरामद गर्दा त्यसो भनेर प्रहरीलाई बदनाम गरिरहनुभएको छ र मसँग ती व्यापारीले भेट पनि गरेको छैन् ।’

‘यद्यपी, हामी छानविन गछौं र ती प्रहरीले कानूनभन्दा बाहिर गएर केही गरेको रैंछ भने कारबाही हुन्छ, हुन्छ,’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस