प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍तोक्यो समय

जनकपुरधाम । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। जसअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही असोज २३ गते आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ । सूची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ ।

त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ। यसका लागि निर्वाचन आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

यसअनुसार असोज २६ गते नै दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस