असई हत्या प्रकरण : एसपी खड्कामाथि विभागीय कारबाहीको सिफारिस

राजविराज – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्या घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।

एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ । घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ ।

सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो । घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए। उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले एसपी खड्कालाई गणबाट हटाइसकेको छ । गत २० असोजमा असइ यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवैजनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा आएर हत्या भएको अनुसन्धानको निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् ।

सप्तरीका एसपी अविनारायण काफ्लेका अनुसार घटना व्यक्तिगत रिसइबीमा भएको हालसम्मको अनुसन्धानमा देखिएको छ । ‘नियोजितभन्दा पनि आवेगप्रेरित घटना जस्तो देखिन्छ,’ उनले भने, ‘अनुसन्धान अझै सकिएको छैन, घटनामा अन्य व्यक्तिको संलग्नता पनि देखिएको छैन ।’

हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780