सामाजिक सञ्जालबाट भ्रमित पार्ने कार्यप्रति जसपाको आपत्ति

राजविराज, ३० कार्तिक । टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा जनमत पार्टीका कार्यकर्ताहरुले भ्रम फैलाई जनतालाई दिग्भ्रमित गर्ने कार्य गरिरहेको भन्दै जनता समाजवादी पार्टीले गम्भीर आपत्ति जनाएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै गरेको भिडियोमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जाल मार्फत मतदातामा भ्रम फिँजाउने कार्य हुँदै आएको हो ।

जसपा सप्तरीका अध्यक्ष केदार यादवले उम्मेदवारहरु चुनावी अभियानमा रहेको अवस्थामा सीके राउतका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै सामान्य नैतिक आचरणको ख्याल नगरी गलत कार्य गर्न आफ्ना कार्यकर्ताहरुलाई प्रोत्साहित गरेको प्रतिक्रिया दिएका छन् ।

चुनावी प्रतिष्पर्धा स्वस्थ हुनुपर्नेमा यस्ता गलत कार्य गरी मतदाताहरुमा भ्रम फैलाउनुले उक्त पार्टीको वास्तविक रुप उदाङ्गो भएको बताउँदै उनले भने ‘निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै हदैसम्मको निकृष्ट क्रियाकलाप भईरहँदा पनि निर्वाचन आयोग लगायत सम्बन्धित निकायले चासो नलिनु अत्यन्तै दुःखद हो ।’ सामाजिक सञ्जालमा पार्टी अध्यक्ष समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव सहितका उम्मेदवार र कार्यकर्ताहरुलाई हदैसम्म गालीगलोज जस्तो क्रियाकलापमा संलग्नहरुलाई कार्वाही गर्न उनले आग्रह गरेका छन् ।

आफुहरु हालसम्म मर्यादित रुपमा निर्वाचन आचारसंहिताको पालना गर्दैआएको र स्वस्थ प्रतिष्पर्धाको पक्षमा रहेको उनले बताए । जनमत लगायतका पार्टीका कार्यकर्ता वा भ्रम फिँजाउने कार्यमा संलग्न जो कोहीको भ्रामक प्रचारबाजीमा नपर्न जसपाका जिल्ला अध्यक्ष यादवले सबैमा अपील गरेका छन् । चुनावी माहोललाई बिगार्ने कार्यहरु भईरहेकोले यसतर्फ सबै पक्षलाई चनाखो रहन उनले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस