वडाध्यक्ष यादवलाई पक्राउ गर्न अदालतको आदेश (फ्लोअप)

राजविराज, ७ माघ । सप्तरीमा भारतीयमूलका एक युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेकाहरुलाई पक्राउ गर्न आदेश जारी भएको छ ।

सप्तरी जिल्ला अदालतले सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका–३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरुलाई पनि पक्राउ गर्न आदेश जारी गरेको हो । गत पुस ८ गते शुक्रबार ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुगेकी सोही वडाका तरहीकी फुलियादेवी मुखिया पक्राउ परिन् ।

उनीसँगै भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी लोचन मुखियाका २० वर्षीय छोरा धीरजकुमार मुखियालाई पनि पक्राउ गरियो । नातामा भान्जा पर्ने धीरजलाई छोरा बनाएर नागरिकता बनाउन लागेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकता सम्बन्धि कसुरमा सातदिने म्याद थप गरेको थियो ।

अनुसन्धानकै क्रममा पक्राउ परेका दुवै शुक्रवार पूर्पक्षका लागि कारागार पठाइएको छ भने वडाध्यक्ष यादवसहितका पक्राउ गर्न आदेश जारी भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले जानकारी दिए । ‘नागरिकता सम्बन्धी कसूर र लिखत सम्बन्धी सरकारी कागजात किर्ते सम्बन्धी कसूरमा वडाध्यक्ष र सर्जमिनमा बसेकाहरुलाई पक्राउ गर्न पुस २४ गते अदालतबाट आदेश जारी भएको छ’ उहाँले भन्नुभयो, ‘उहाँहरुको खोजी कार्य भइरहेको छ ।’

श्रोतकाअनुसार जनप्रतिनिधि नै आर्थिक प्रलोभनमा परेर भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराएको हो । ‘डेढ लाख रुपैयाँमा डिल भएको रैंछ, त्यसमा जनप्रतिनिधि र प्रहरी चौकी पातोले बाँडफाँड गरेका छन्’ श्रोतले भन्यो, ‘स्थानीय देवन राय, रामस्वरुप विश्वकर्मा, मंगल मुखिया, कपलेश्वर ठाकुर र रंजित मुखिया सर्जमिन मुचुल्काका साक्षी हुन् भने वडा अध्यक्ष यादवकै रोहबरमै सर्जमिन उठाइएको छ ।’

यद्यपी, वडाध्यक्ष यादवले यसअघि नै सर्जमिन मुचुल्काका साक्षीहरुसँग कुनै प्रकारको चिनजान नरहेको बताएका थिए । ‘साक्षीमा उहाँहरुको नाम छ भने होला तर म कसैलाई चिन्दिनँ’ उनले भने, ‘मान्छे चिन्नुभन्दा पनि मैले जन्मदर्तालाई आधार बनाएर सिफारिस दिएको हुँ, पैसाको लेनदेन गलत हो ।’

स्थानीयका अनुसार वडाध्यक्ष र सर्जमिनमा बसेकाहरु हाल फरार छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस