एनआईसी एसिया बैंक राजविराज : नक्कली धितो जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्क विहिन

विद्यानन्द राम/सौरभ यादव

राजविराज, २५ माघ । एनआईसी एसिया बैंक राजविराज शाखाले नक्कली धितो जग्गामा पौने ३ करोड रुपैयाँ ऋण दिएको खुलासा भएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक संतोशकुमार यादव सम्पर्क विहिन भएपछि घटना बाहिरिएको हो ।

नक्कली धितो जग्गा र सो जग्गाका जग्गाधनि खडा गरी २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको मधेशलाइभलाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख रहेको छ । विवरण अनुसार सो धितोको जग्गाधनि राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई बनाइएको छ । उनको नाममा किर्ते गरी प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको जग्गाधनि प्रमाण पत्र बनाएर एनआईसी एसिया बैंक राजविराजले गत आइतवार (माघ २२) गते रोक्का नम्वर १५१२०९८०एनएल०००२२९० मा जग्गा रोक्का गरेको छ ।

श्रोतकाअनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो.समसाद खाँनले किर्ते जग्गाधनि प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनि बनाई सोही जग्गा बैंकमा धितो राखेका हुन् भने खातुनकै बुहारी एएस ट्रेडर्स एण्ड सप्लायर्सकी सञ्चालक समेत रहेकी राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋण दिइएको छ ।

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये माघ २२ गतेदेखि २४ गतेसम्ममा २ करोड ३० लाख रुपैयाँ निकासा समेत दिइसकेका छन् भने घटना बाहिरिएसँगै प्रबन्धक यादव र व्यवसायी खाँन सम्पर्क विहिन बनेको श्रोतको भनाई छ ।

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पनि प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को जग्गा नगरपालिका–८ निवासी रविन्द्र कुमार यादवको नाममा रहेको बताए । ‘त्यो जग्गाको किर्ते धनि खडा गरी ऋण प्रवाह भएको कुरा मैले पनि सुनेको छु’ उनले भने, ‘प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को जग्गा नगरपालिका–८ निवासी रविन्द्र कुमार यादवको नाममा छ, ढुक्क हुनुस् ।’

एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफुलाई सो बारे कुनै जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारवाही हुने बताए । ‘यस्तो त नर्मली हुँदैन, तर त्यस्तो भएको हो भन्ने संलग्नलाई कारवाही हुन्छ’, उनले भने ।

यता, सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले सोबारे प्रहरीसमक्ष जानकारी आइनसकेको बताए । ‘अहिलेसम्म हामीसमक्ष कुनै जानकारी आइसकेको छैन्, कुनै जानकारी आएपछि हामी जानकारी गराउँला’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस