बैंकर्सले नै मिटरब्याजको धन्दा चलाउन एनआईसी एसिया बैंकमा ‘स्क्याम’ गराएको खुलासा

राजविराज, २१ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा सप्तरी उद्योग वाणिज्य संघले थप रहस्य खुलासा गरेको छ ।

‘स्क्याम’ले यहाँका वास्तविक व्यवसायी पनि बदनाम हुन थालेपछि संघका अध्यक्ष लालुप्रसाद अग्रवालले सञ्चारकर्मीसँग कुरा गर्दै बैंकर्सले नै फर्जी व्यवसायी खडा गरी स्क्याम गराएको खुलासा गरेका छन् । ‘यो व्यवसायीसँग जोडिएको घटना नै होइन, यहाँ एउटा माफिया नै सक्रिय छन्’ उनले भने, ‘उसैले किर्ते व्यवसाय र व्यवसायी खडा गरी फर्जी जग्गा रोक्का गरेर सोहीअनुसार ऋण दिने र सो ऋण रकमबाटै मिटरब्याजको अवैध धन्दा चलाएर उतपात मच्चाउँदै आएका छन् ।’

सो विषयमा सम्बन्धित स्थानमा कुरा पुर्याइसकेको बताउँदै उनले छिट्टै बैंकर्सहरुसँग छलफल गरी सचेत गराउने तयारी रहेको बताए । ‘एउटा बैंकको एउटा मात्रै स्क्याम उजागर भयो, यहाँका अन्य केही बैंकमा पनि यस्तो फर्जी काम भएको छ’ उनले भने, ‘यहाँका बैंकर्सहरुले चलाएको धन्दाका कारण बैंकका माथिल्लो स्तरले सप्तरीका व्यवसायीलाई हेर्ने दृष्टि अहिले फरक भएको छ तर यसमा वास्तविक व्यवसायीको कुनै दोष छैन् ।’

लालुप्रसाद अग्रवाल, अध्यक्ष–सप्तरी उद्योग वाणिज्य संघ ।

‘स्क्याम’ बाहिरिएपछि अहिले अधिकांश बैंकले यहाँ माथिबाट टोली खटाएर जाँचबुझ गरिरहेको जानकारी दिँदै अध्यक्ष अग्रवालले वास्तविक व्यवसायीलाई शंकाको नजरले नहेर्न पनि आग्रह गरे । ‘यी स्क्यामले बैंकका विभागहरु डराएका छन्, माथिबाट खटिएका अनुगमन टोलीले जाँचबुझ जारी राखेका छन् तर यहाँका वास्तविक व्यवसायीहरु निदोष छन्’ उनले भने, ‘यो घटना र यस्ता घटनामा संलग्न देखिनेलाई हदैसम्मको कारबाही हुनुपर्छ, प्रहरीलाई पनि सुक्ष्म अनुसन्धान गर्न उद्योग वाणिज्य संघको आग्रह छ ।’

गत माघ २६ गते सो बैंक शाखा राजविराजका प्रबन्धक संतोशकुमार यादव, केही व्यवसायी, अन्य बैंक र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी तथा लेखापढी व्यवसायी मिलेर ‘स्क्याम’ गरेको विषय खुलासा भएको थियो । ‘स्क्याम’ खुलासा भएसँगै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीको लागि प्रहरीमा पत्राचार गरेको थियो । पत्र पाएसँगै छानबिन सुरु गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। ‘हामी आन्तरिक छानबिन थालिसक्यौं’ उनले भने, ‘तत्कालै केही भन्नसकिनँ, अनुसन्धान जारी छ ।’

संलग्नहरु केही फरार, केही सम्पर्कविहीन

एनआईसी एसिया बैंक शाखा राजविराजका प्रबन्धक यादवले सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादवसँग मिलेर जिल्लाको राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गाधनि प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई जग्गाधनि बनाएका थिए ।

सोही जग्गाधनि प्रमाण–पत्रको आधारमा गत माघ २२ गते बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको छ भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’ लाई स्वीकृत गरेको २ करोड ८० लाख ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरिसकेको थियो ।

‘स्क्याम’ बाहिरिएसँगै सम्पर्कविहिन भएका व्यवसायी मो.समसाद पछि मिडियाको सम्पर्कमा आए पनि सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मा र व्यवसायी शंकर यादव फरार छन् भने फर्जी जग्गाधनि वसिरन र ऋणी उनकै बुहारी आसमा पनि सम्पर्कमा आउन चाहेकी छैन्।

उता, एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुनराज खनियाले शाखाका ४–५ जना कर्मचारीलाई विदा बसाएर आन्तरिक लेखा परीक्षण विभागको टोलीले छानबिन गरिरहेको बताउदै आएका छन्। आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस