जसपा अध्यक्ष उपेन्द्र यादवको नाममा बिन्तिपत्र

श्रद्धेय अध्यक्ष उपेन्द्र यादवज्यू
बारा क्षेत्र नं–२ प्रतिनिधी सभा सदस्यका उमेदवार ।

                                                          विषयः हार्दिक बिन्तिपत्र ।

श्रद्धेय अध्यक्षज्यू, हरेक चुनावमा देशभरिबाट नै तपाईंलाई उम्मेदवार बन्न पार्टी भित्रबाट दबाब आउने गर्दछ । तपाईं सँधै त्यही दबाबमा परेर कहिल्यै मोरङ्ग त कहिल्यै सुनसरी त कहिल्यै सप्तरीबाट चुनाव लड्नु भयो ।

निश्चित रूपमा जुन जिल्लामा तपाईं चुनाव लड्नु भयो, त्यो जिल्लाका नेता कार्यकर्ता तथा जनताको महत्व भएको मैले नजिकबाट हेरेको छु । त्यहाँका जनताले अध्यक्षज्यू हाम्रै जिल्ला र क्षेत्रमा रहिरहोस् भने आकांक्षा कसको हुँदैन । त्यो जिल्लाको जनता र खासगरि त्यो क्षेत्रका जनता भाग्यमानी भएको हामीले बुझेका छौं ।

तपाईं राष्ट्रिय अध्यक्ष भएको हुँदा पनि जुन जिल्ला वा क्षेत्रमा उमेदवारी दिनु हुन्छ, त्यहाँका जनता अवश्य नै भाग्यमानी हो भन्ने बुझाई हरेक नेता, कार्याकर्ताले आत्मसात गरेका छन् । तर केही मधेशका जयचन्दहरुले यस कुरालाई अनाहक प्रचार प्रसार गरेका कारण सप्तरीमा पुनः निर्वाचन लड्न बाध्य हुनु भयो । तपाईंको सिफारिस सप्तरी, सिरहा, धनुषा, रौतहट, बारा र पर्सा बाट भएको थियो तर सबै भन्दा दबाब मूलक सिफारिस बारा जिल्लाबासीले गर्नु भएको कुरा तपाईंलाई स्मरण हुनपर्ने हो ।

सिरहा र धनुषाबासीले अथक प्रयासका बाबजुद पनि तपाईं जस्ता महानायक राजनेता हामी पाउन नसक्नु अथवा हामी त्यो अवसरबाट बञ्चित हुनु भनेको हामी आफूलाई अभागी ठान्दछौं । शक्तिपीठका रूपमा स्थापित माता गढिमाईको अनुकम्पा र ईच्छा तथा बाराबासीको अन्तरआत्माले चाहेको थियो कि उपेन्द्र यादवले हामीलाई सेवा गर्नुपर्दछ र तपाईँ सप्तरीमा गएर चुनाब लड्नु भयो । त्यो भनेको अन्तरआत्माले गरेको पुकारको विपरित थियो । श्रद्धेय अध्यक्षज्यू, गढिमाईको शक्ति र आशिर्वाद तथा बारा जिल्लाबासीको अनन्य स्नेह प्रेम र अन्तरआत्माले पुकारेको आवाजले तपाईंलाई सेवा गर्न बाध्य गरेका छन् । वहाँहरू निश्चित रूपमा भाग्यशाली हुनु हुन्छ ।

श्रद्धेय अध्यक्षज्यू, हामी धनुषा जिल्लाबासीले यो अवसर कहिले पाउँला ? के हामी यति अभागी त छैनौ नी ? मोरङ्ग, सुनसरी, सप्तरी र बाराका जनताले यो अवसर पाए । हामी कहिले पाउने ? अध्यक्षज्यू, कहिले न कहिले यो अवसर हामी धनुषाबासीले पनि पाऊन् भन्ने कुराको बिन्तिपत्र यहाँ समक्ष एक धनुषाबासीको नाताले र एक पार्टीको सदस्यको नाताले पेश गरेको छु । आशा छ पार्टीप्रति वफादार म जस्ता कार्यकर्ताहरुको आवाजलाई आगामी दिनमा सम्बोधन गर्नु नै हुने छ भनी विश्वास रहेको छ । जय मधेश ! जय मधेश !! जय मधेश !!!

                                                                                                        पार्टीको सिपाही
                                                                                                         जितेन्द्र यादव

Author:



क्याटोगरी छान्‍नुहोस