संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि उपेन्द्र यादव संसदमा पुग्नुपर्छ : सोनल

बारा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

बारा– २ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार यादवलाई जिताउन लोसपाबाट जिम्मेवारी पाएका मधेस सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले संसदमा यादव नहुँदा संघीयतामाथि प्रहार भइरहेकाले उनको उपस्थिति अपरिहार्य भएको बताएका हुन् ।

मंगलबार बाराको सुवर्ण गाउँपालिका– ६ जमुनियामा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै सोनलले भने, ‘अहिले संघीयतामाथि अनेक ढंगले प्रहार भइरहेको छ, संघीयताविरोधी शक्तिहरू सल्बलाइरहेका छन्, त्यसका कारण संसदमा उपेन्द्र यादवजीको उपस्थिति आवश्यक छ ।’

मधेसका केही बहुरुपीयाहरूको भ्रममा नपर्न बारा– २ का जनतालाई आग्रह गर्दै सोनलले गठबन्धनका साझा उम्मेदवार यादवलाई नै अत्यधिक मत दिएर जिताउन अपिल पनि गरे । मधेसको मुद्दा लोसपा र जसपाले कहिल्यै पनि नछाडेकाले बाँकी रहेका अधिकार प्राप्तिका लागि चलिरहेको संघर्षलाई दुवै दलले नै गन्तव्यमा पुर्‍याउने उनको दाबी थियो ।

चुनावी सभालाई जसपा अध्यक्ष एवं बारा- २ का उम्मेदवार यादव, पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले पनि सम्बोधन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस