जनमत पार्टीका मन्त्री कुशवाहाको अर्को चर्तिकला: मोटो रकम लिएर बोर्डमा उपाध्यक्षको नियुक्ति

जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. वसन्त कुशवाहाले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै व्यापक रकम लिएर प्रदेश दुग्ध विकास बोर्डमा पदाधिकारी नियुक्त गरेको छ ।

उपनिर्वाचन पछि आफुहरुलाई सरकारबाट आउट गर्ने डरले हतारहतारमा बोर्डको उपाध्ययक्षमा डा. शम्भु साहलाई नियुक्त गरिएको हो । जनमत पार्टीबाट मन्त्री बनेका ई. कुशवाहाले यस अघि नै नियुक्त गर्न खोजिए पनि रकमको लेनदेन नमिलेकोले नियुक्ति प्रक्रिया रोकिएको थियो । श्रोतका अनुसार उपाध्यक्षमा नियुक्तिका लागि निवेदन दिएका व्यक्तिहरुसँग मन्त्री कुशवाहाले मन्त्रालयमै बोलाएर रकमको बार्गेनिङ्ग गर्दैआएको जनाइएको छ ।

नियुक्ति पाएका डा. साह तीन वर्ष अघि जिल्ला पशु सेवा कार्यालयको प्रमुख भई अवकाश भएका थिए । उनी महोत्तरीको लोहारपट्टी नगरपालिका निवासी हुन् । मन्त्री कुशवाहाले बोर्डको उपाध्यक्ष पदका लागि जसरी भए पनि डा. साहलाई नियुक्त गर्न मन्त्रालयकी सचिव डा. नम्रता सिंहलाई दवाब दिँदै आएका थिए । सचिव सिंहले आचारसंहिता लागु भईसकेको अवस्थामा तत्काल नियुक्त गर्न नमिल्ने भन्दै आए पनि मन्त्री कुशवाहाले शुक्रवार मन्त्रीस्तरीय निर्णय गरी नियुक्त गरेको श्रोतले जनाएको छ ।

चुनाव पछि मन्त्री पद रहने वा नरहने भन्ने त्रासमा रहेका मन्त्री कुशवाहाकै निर्देशनमा सोमबारै उपाध्यक्ष डा. साहको नियुक्तिपत्र सहित पदस्थापन गरिएको छ । बोर्डको अध्यक्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष रहने प्रावधान छ ।

यस विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश दुग्ध विकास बोर्डमा पदाधिकारी नियुक्तिको विषयमा जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।

यस अघि मन्त्री कुशवाहाले बारामा २ भईरहेको उपनिर्वाचनलाई लक्षित गरी मतदातालाई प्रभावित पार्ने नियतले ५० करोड रुपैयाँको मलखाद खरिद गर्ने प्रस्ताव आफुले मन्त्री परिषद्मा गरेको भनी सामाजिक सञ्जालमा लेखेका थिए । उक्त विषय समेत मन्त्री कुशवाहाले सस्तो लोकप्रियताका लागि गरेको हुनसक्ने तथा उक्त विषयमा कुनै प्रस्ताव नआएको भनी मुख्यन्त्री यादवले प्रतिक्रिया दिएका थिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि शिवचन्द्र कुशवाहा चुनाव लडेका छन् । नेकपा माओवादी केन्द्रले कुशवाहालाई चुनाव लड्न टिकट नदिने भएपछि सीके राउतले जनमत पार्टीमा भित्र्याएर उम्मेदवार बनाएका छन् । आफै चुनाव लडे जस्तै सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादव विरुद्ध मतदाताहरुमाझ भ्रम फैलाउँदैआएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस