सुनसरीमा २२७ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर – सुनसरीमा २२७ किलो गाँजासहित बिहीबार दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ) ले धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले धनकुटाबाट इटहरी जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकलाई चेक गरेको थियो । उक्त ट्रकमा ८ वटा पोका पारेको २२७ किलो ४०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमका २८ वर्षीय चुडामणि कटुवाल छन् । उनीहरूबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ ।

नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामग्रीसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस