मेयरका श्रीमानको दादागिरी : निर्माणाधीन घर भत्काई महिलालाई अभद्र व्यवहार

प्रियासिंह थारु ‘पार्वती’
राजविराज – सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीका श्रीमान् श्रवण चौधरीको दादागिरीका कारण आफु पीडित हुन पुगेको एक महिलाले आरोप लगाएकी छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै राजविराज नगरपालिका–८ की सरिता भगत यादवले यस्तो आरोप लगाएकी हुन् ।

उनका अनुसार चौधरीले साविक रामपुर जमुवा गाविस–७ हाल शम्भुनाथ नगरपालिका–११ स्थित किता नम्बर २३८ को २ विघा ८ कठ्ठा जग्गामा बनाइरहेको निर्माणाधीन घर भत्काई आफुमाथि पटक–पटक अभद्र व्यवहार गर्दै आएका छन् ।

‘आफ्नो आमा निलमदेवी भगतको नाममा रहेको उक्त जग्गामध्ये १० फिटको बाटो दिएपनि स्थानीय नारायण मण्डल, राजकुमार मण्डल र श्रवण चौधरी त्यहाँ अझै पनि भोग गर्न दिएको छैन्’ उनले भनिन्, ‘उनीहरु उक्त जग्गामा अनाधिकृत बाटो निर्माण गराउने षड्यन्त्रमा लागेका छन् ।’

श्रवण नगर प्रमुखका श्रीमान भएकोले स्थानीय वडा अध्यक्ष राजकुमार साह ‘संजय’ले समेत श्रवणलाई नै सहयोग गर्दै आएको सरिताको आरोप छ । ‘मैले गलती गरेको छु भन्ने त्यसको पनि कानूनी उपचार होला नि’ उनले भनिन्, ‘तर, उनीहरु जबरजस्ती गरिरहेका छन्, जबरजस्ती नगरी कानुनी बाटो मार्फत आउन आग्रह छ ।’

सो विषयमा वडाध्यक्ष साहले भने, ‘सो जग्गामा दलित मिठु खंगलाई रेडक्रसका सभापति योगेन्द्र भगतले ऐलानी जग्गा भनेर घर बनाइदिएको थियोे । तर स्थानीय बुढापाखाको भनाइअनुसार ४०/५० बर्ष पहिले त्यहाँ सडक रहेकोले मिठु खंगको बुहारी घर भत्काएर आफ्नो जग्गामा गईन् ।’

उक्त जग्गामा खंगमाथि सरिताले मुद्दा गरी पिलर लगाएकी कारणले पहिला कायम रहेको सडक नै हुनुपर्ने उनको भनाइ छ ।

उता, श्रवणले सरिता नै मुख्य दोषी रहेको बताए । ’सरिताले झुठो आरोप लगाए रहेकी छिन् ।’ उनले भने ‘प्रहरीमा निवेदन दिँदा भएको सम्झौता प्रहरीसँग बुझ्नुस, समाज विकासको लागि बाटोघाटो बनाउने, भत्काउने समस्या स्थानीय बासिन्दा, वडा अध्यक्ष, कावा मेयरको भएकोले मलाई मतलब भएन ।’

कार्यवाहक नगर प्रमुख चौधरीले उक्त विषयमा उहिले नै मिलापत्र भइसकेको बताइन् । ‘मेरो श्रीमान्को सो विषयमा कुनै लेनादेना थिएन/छैन्, शुद्ध मिलापत्र समेत भइसकेको छ’ उनले भनिन्, ‘अहिले आएर त्यो विषय उठाउनुको अर्थ छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस