मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाउन ४ घण्टा लाग्ने

जनकपुरधाम । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ। गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ।

माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन चलाउन सकिने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

‘हिजो दिउँसो पहिरो पन्छाएर गाडीहरू आवतजावत गराइएको थियो। तर, गएराति ठूलो परिमाणमा पहिरो आएर थुप्रियो,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले भने, ‘बिहानैदेखि तीनवटा स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन।’

उनका अनुसार तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खसिरहेको छ।

‘पुल हाल्ने क्रममा खोला वारितर्फको भाग कडा चट्टान भएकाले चलेको छैन। तर, पारिपट्टि निकै खुकुलो चट्टान छ। तलबाट कटिङ गर्दा माथिदेखिकै भाग खस्ने जोखिम छ,’ उनले भने।

चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङका अनुसार पहिरो पन्छाउन अझै ४–५ घण्टा लाग्छ।

मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको पनि उनले बताए।

‘हामीले दुवैतर्फ तीनतीन खण्डमा सवारी रोकेका छौं। हिजो दिउँसो रोकिने, खुल्ने गरेर पनि सबै सवारी पास गराउन सकिएको थियो। गएरातिदेखि पहिरो खस्न थालेपछि आवागमन अवरूद्ध हुन पुग्यो,’ उनले भने, ‘अहिले रोकिएका हिजोदेखिका सवारी हुन्।’

उनले साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।

जसका कारण लामो दूरीका यात्रुहरू मर्कामा छन्। गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।

‘ठूला सवारीका लागि पहिरो पन्छाउञ्जेल पर्खनुको विकल्प छैन। कमजोर चट्टान र माथिदेखिकै भूभाग खसिरहेकाले जतिबेलै पहिराको जोखिम रहन्छ,’ तामाङ भन्छन्।

Author:



क्याटोगरी छान्‍नुहोस