शिवचन्द्र कुशवाहसहित पाँच नेतालाई जनमत पार्टीले गर्‍यो कारबाही

जनकपुरधाम – जनमत पार्टीले शिवचन्द्र कुशवाहासहित पाँच जना नेता–कार्यकर्तालाई कारबाही गरेको छ ।

कुशवाहा गत उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । कुशवाहासहित सप्तरीका गुलाब मण्डल, सप्तरीकै शंकर खड्गा, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादवलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ ।

माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ भने मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्रलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ । यसैगरी, गुलाबलाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकरलाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाही गरिएको हो ।

भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ । त्यस्तै, भगवानलाई पार्टीका बैठकहरु, कामकारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै कारबाही गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस