‘कमिसन’ प्रकरण : प्रमुखकै गाउँमा करोडको योजना, उपभोक्ता समिति अध्यक्षमा उनकै भाइ

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापामारी पछि सामाजिक विकास इकाई राजविराजका कर्मचारीले मनोमानी गरेको एकपछि अर्को विषय बाहिरिदैँ गएको छ ।

सप्तरी र सिरहा गरी दुई जिल्ला हेर्ने गरी स्थापित सो इकाईका निमित्त प्रमुख दुनियालाल यादवले आफ्नो गाउँ र आसपासका वडामा मात्रै अढाइ करोड रुपैयाँको योजना पारेको पाइएको हो । तीमध्ये केही योजनामा आसेपासेलाई नै उपभोक्ता समितिमा राखेका छन् भने एउटा उपभोक्ता समितिको अध्यक्षमा निमित्त प्रमुख यादवकै भाइ (काकाको छोरा) रहेका छन् ।

जिल्लाको बलान विहुल गाउँपालिका–४ वेल्ही बस्ने इकाई निमित्त प्रमुख यादवले आर्थिक वर्ष ०७९–०८० मा सो स्थानीय तहमा मात्रै अढाइ करोड रुपैयाँ पारेका थिए । आफ्नै वडामा वर्थिङ सेन्टर निर्माण गर्न ५० लाख र दुई तल्ले भवनको लागि पनि ५० लाख पारेका थिए ।

‘वर्थिङ सेन्टरको उपभोक्ता समितिमा काकाको छोरा जिवछ यादवलाई नै अध्यक्षमा राखेका थिए, त्यो वर्थिङ सेन्टर अझैं पनि विवादीतै छ, केही व्यक्तिले शिलालेख समेत फुटाइदिए’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘त्यसरी कार्यालय प्रमुखले भाइलाई नै उपभोक्ता समिति अध्यक्षमा राख्न मिल्छ त?, व्यक्तिगत स्वार्थभन्दा उठ्नै सकेका छैन् ।’

त्यस्तै, इकाईका निमित्त प्रमुख यादवले वडा नम्वर १ स्थित सामूदायिक भवनका लागि ५० लाख र वडा नम्वर ५ रामनगर विद्यालयमा ४ कोठे भवनका लागि पनि ५० लाख रुपैयाँ बजेट दिएका छन् । ‘दुई जिल्ला हेर्ने इकाई हो तर हाम्रै जिल्लाको कुन–कुन स्थानीय तहमा कति–कति बजेट गए?, खोज्ने वित्तिकै स्पष्ट हुन्छ कहाँ निर चुहावट रैंछ भन्ने कुरा’ उनले थपे, ‘कमिसने वा कुटुम्ब, आसेपासे वा सहयोगी बाहेकलाई बजेट दिएकै छैन्, सामूहिक भवनबाला उपभोक्ता समितिको अध्यक्ष पनि प्रमुखकै कुटुम्ब हो ।’

केही कुरा त अख्तियारले स्पष्ट गरिसकेको छ नै, अन्य सञ्चारकर्मीले नै खोज्नुपर्ने उनको कथन छ ।

गत साउन ४ गते छापा मारी गर्दा सो इकाईका सब–इन्जिनियर अजयकुमार साफीले भुक्तानी दिए वापत कमिसन ‘पिसी’ लिएको नगद १५ हजार र ५५ हजार रुपैयाँको चेक फ्याकी पर्खाल नाघेर भागेका थिए । सो विषयमा आयोगले थप छानबिन गरिरहेको जनाएको छ ।

उता, इकाईका निमित्त प्रमुख यादवले ती योजनामा उपभोक्ता समितिको अध्यक्ष आफ्नो भाइ (काकाको छोरा) रहेको स्वीकार गरे । ‘तर काम हेरेर पनि मुल्यांकन गरिदिनु न, उपभोक्ता समितिमा जो रहे पनि के फरक पर्छ र? काम त राम्रो भएको छ नि’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस