जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए ।

उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए ।

एमाले अध्यक्ष ओलीले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए । उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए । अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाई छ ।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए । उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस