सिडिओ कार्यालयको उर्दी विरुद्ध पत्रकार महासंघ आन्दोलित 

राजविराज — जिल्ला प्रशासन कार्यालय, सप्तरीले अनुमति विना कार्यालयको फोटो, भिडियो नखिच्न जारी गरेको उर्दीप्रति आक्रोशित बनेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन थालेको छ ।

हिजो नै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति विना कार्यालयको फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको थियो ।

सो सूचना लगत्तै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सो सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

सो विज्ञप्तिमै हिजै राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते आज (विहिवार) बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको थियो । सोही अनुसार आज महासंघको नेतृत्वको पत्रकारहरुले विरोध र्याली निकालिएका छन् भने जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि एक घन्टा धर्ना दिएका छन् ।

राजविराज बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि पुगेर धर्ना दिएका हुन् । धर्नापछि आयोजित कोणसभामा पत्रकारहरुले सप्तरीका सीडिओले संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारबाहीको माग गरेका थिए ।

महासंघ सप्तरीका अध्यक्ष देवले जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा भोली (शुक्रबार) देखि थप कडा आन्दोलन गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस