प्रहरी र तस्करबिच ‘सेटिङ’, असुली गर्ने असई  

राजविराज, २१ कार्तिक । सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको पाइएको छ ।

तस्करसँग ‘सेटिङ’ मिलाउन खटाइएका अस्थायी प्रहरी पोष्ट भगवानपुरका प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साहले ‘रेट’ बढाएपछि असुली धन्दाबारे खुल्न आएको हो । ‘यसअघिसम्म मोटरसाइकलमा कपडा ल्याउँदा मासिक २२ हजार रुपैयाँ मात्रै तिर्नु पर्थ्यो तर अहिले अचानक १० हजार रुपैयाँ बढाएर माग्न थाल्यो’ नाम नछाप्ने सर्तमा एक स्थानीय व्यापारीले भने, ‘त्यो रकम नतिरेपछि कपडा नै जफत गरिहाल्यो ।’

तर, गाई–गोरु, चिनी र गाँजा ओसारपसार गर्नेलाई कुनै रोक–छेक नरहेको उनले बताए । ‘उनीहरुले भनेअनुसारकै मासिक रकम बुझाइरहेका छन् पनि, उनीहरुसँग त ठुलो व्यापार छ र उनीहरुका लागि समय र बाटो पनि असई साहले नै निर्धारण गरेर सघाउँछन्’ उनले भने, ‘गाई–गोरु तस्करीका लागि बिहिवार र शनिवार साँझको समय निर्धारित छन् र बाटो चैं बलानको पश्चिमी किनार हुँदै कल्याणपुर–दुधैलाको मन्दिर छेउबाट भारततर्फ पुर्याइन्छ ।’

कहिलेकाहीँ त लामो दुरीका कारण थकित भएर मर्न लागेका गाई–गोरुलाई बलान नदी (बेल्हीको पश्चिमी गौचरस्थल) मा छाड्ने गरेको बेल्हीका गोठालोहरु बताउँछन् । ‘ती बेहोस अवस्थामा पुगेका गाई–गोरुलाई स्याल र चराहरु चिथोरेर खाने गरेको चित्त दुख्दो दृश्य देखिन्छ’ नदी वारी पर्ने सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका श्रीदेव भण्डारीले भने ।

ईलाका प्रहरी कार्यालय लहानको टोलीले गत कार्तिक ५ गते जिल्लाको लहान नगरपालिका–३ हस्पिटल चौकबाट ४१ बोरा (१३ क्विन्टल) चिनी बरामद गरे । अस्थायी प्रहरी पोष्ट भगवानपुरका प्रहरीले चेकजाँच गरी पठाइएको गाडीमा नै उक्त चिनी हस्पिटल चौकसम्म पुर्याइएको थियो । लेनदेनको ‘वागेनिङ’ नमिलेपछि ‘अनलोड’ गरेसँगै वेवारिसे अवस्था देखाएर उक्त बरामदित चिनी तीन दिनपछि ठाढी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सारका सूचना अधिकारी विनय चौधरीले लहान नगरपालिका–३ हस्पिटल चौकबाट वेवारिसे अवस्थामा बरामद गरिएको चिनी भन्सारमा बुझाइएको बताए । ‘४१ वटा बोरामा रहेको उक्त चिनीको तौल १३ क्विन्टल रहेको छ’ उनले भने, ‘अहिलेसम्म उक्त चिनीको विषयमा कोही दावी गर्न चैं आएका छैनन् ।’

तस्करकै ‘डिमाण्ड’मा दोहोर्याएर असईलाई पठाइयो 

सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीमा जानका लागि प्रहरी संगठनभित्र मरिहत्तै हुने गरेको कुरा नकार्न सकिदैन् । उक्त चौकीहरुमा पठाउनका लागि स्थानियदेखि केन्द्रस्तरका नेताहरुबाट समेत दवाव झेल्नु परिरहेको एक प्रहरी अधिकृतले नै नाम नछाप्ने सर्तमा बताए ।

तर, असई साहलाई पन्ध्र महिना नहुँदै उक्त चौकीमा दोहोर्याएर पठाइएको पाइएको छ । श्रोतकाअनुसार तस्करकै ‘डिमाण्ड’ अनुसार असइ साहलाई दोहोर्याएर सो चौकीमा काजमा पठाइएको छ । यसअघि ०७८ माघ १८ गते सो चौकीमा सरुवा भएर आएका असई साहको ०७९ असार  २० गते सरुवा भएको थियो ।

हाल साहको दरबन्दी ईलाका प्रहरी कार्यालय लहानमा छ । तर, तस्करले नै ‘डिमाण्ड’ गरेपछि असई साहलाई ०८० असार १२ गते दोस्रो पटक फेरी काजमा खटाएको श्रोतले बताए । ‘यहाँ मालसमान ओहरदोहर गर्न त्यति साह्रो गाह्रो पनि छैन् तर चिनजानका इन्चार्ज भएको खण्डमा अलिक सहज होला भन्ने मनसायले नै असइ साहलाई जोडबल गरेर यहाँ झिकाइएको हो तर माथिल्लो हाकिमको दवावका कारण असई साहले रेट झन महँगो पारेर असुली गर्न थालेका छन्’ श्रोतले भन्यो, ‘कम गर्नभन्दा माथिबाटै धेरै तनाव आइरहेको भन्दै भनेकै अनुसार मासिक रकम नदिए लाइन बन्द गर्ने चेतावनी दिन्छन् ।’

अहिले स–साना व्यापारीले कारोबार रोके पनि ठुलो तस्करहरुलाई मात्रै लाइन दिँदै मासिक असुली गर्दै आएको उनको कथन छ ।

असई साहले तस्करसँग असुली गरिरहेको विषय अस्वीकार गरे । ‘मैले कसैसँग पैसा लिएको छैन्, तस्करीको लाइन पनि छैन्’ उनले भने, ‘यो सबै गलत कुरा हो ।’

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले उक्त चौकीका असइसँग प्रशासनिक कामकाज बाहेक अन्य कुनै लेनदेनको कुरा नरहेको बताए । ‘सो चौकी आफ्नै ईलाकामा पर्छ, त्यसैले प्रशासनिक कामकाज हुन्छ तर ती बाहेकको कुनै कुरा छैन्, अन्य कुराहरु एसपी सा’बसँग बुझ्नुस् न ।’, उनले भने ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले तस्करसँग साँठगाँठ गरेको पाइए तत्कालै कारबाही गर्ने बताए । ‘हुन त यसअघि पनि प्रसनि साहको विषयमा गुनासो आएकै हो, तस्करसँग साँठगाँठ गरेको पाइए कारबाही हुन्छ’ उनले भने, ‘तस्करी विषयमा मलाई जानकारी छैन् र संगठनको कामकाज बाहेक अन्य कुनै लेनादेना छैन् । रोटेशनमा प्रसनि साह त्यहाँ पुगेको हुनसक्छ, यद्यपी थप कुरा बुझ्दैछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस