तस्करसँग ‘सेटिङ’ गरी असुली गर्ने असई तानिए (फलोअप)  

राजविराज– सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको विषय बाहिरिएसँगै ‘सेटिङ’ मिलाउने प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साह तानिएका छन् ।

ईलाका प्रहरी कार्यालय लहानमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट भगवानपुरमा इन्चार्जका रुपमा काजमा खटाइएका असई साहको असुली धन्दाबारे समाचार बाहिरिएपछि जिम्मेवारी खोसिएको हो ।

असई साहलाई पुनः ईलाका प्रहरी कार्यालय लहान तानिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बुले बताएका छन् । ‘प्रसनि साहलाई हामीले तानिसकेका छौं’ उनले भने, ‘समाचार आएसँगै साहमाथि अनुसन्धान पनि अघि बढाइसकेका छौं ।’

असुली धन्दाबारे सामसुम पार्न असई साहलाई तानेर अनुसन्धान अघि बढाएपनि सिरहामा माथिल्लोस्तरबाटै ‘सेटिङ’को ‘सिस्टम’ रहेको व्यापारीहरु नै बताउँछन् । सो ‘सिस्टम’ अनुसार नै असई साहलाई पन्ध्र महिना नहुँदै अस्थायी प्रहरी पोष्ट भगवानपुरमा काजमा दोहोर्याएर पठाइएको थियो ।

यसअघि २०७८ माघ १८ गते सो चौकीमा सरुवा भएर आएका असई साहको २०७९ असार  २० गते सरुवा भएको थियो । श्रोतका अनुसार तस्करले नै ‘डिमाण्ड’ गरेपछि असई साहलाई २०८० असार १२ गते दोस्रो पटक काजमा खटाइएको थियो ।

‘यहाँ मालसमान ओहरदोहर गर्न त्यति साह्रो गाह्रो पनि छैन् तर चिनजानका इन्चार्ज भएको खण्डमा अलिक सहज होला भन्ने मनसायले नै असई साहलाई जोडबल गरेर यहाँ झिकाइएको थियो तर माथिल्लो हाकिमको दवावका कारण असई साहले रेट झन महँगो पारेर असुली गर्न थालेको थियो’ श्रोतले भन्यो, ‘कम गर्नभन्दा माथिबाटै धेरै तनाव आइरहेको भन्दै भनेकै अनुसार मासिक रकम नदिए लाइन बन्द गर्ने चेतावनी दिन थालेपछि व्यापारीहरु नै कुरा फुत्काइदिए ।’

यसअघिसम्म पारी (भारत) बाट मोटरसाइकलमा कपडा ल्याउँदा असई साहले प्रति व्यापारी मासिक २२ हजार रुपैयाँ उठाउँदै आएका थिए । तर, पछि ‘लाइन’ दिनका लागि ‘रेट’ बढाएपछि उहाँको असुली धन्दाबारे खुल्न आएको हो । ‘असई साहले पछिल्लो पटक १० हजार रुपैयाँ बढाएर माग्न थालेका थिए, त्यो रकम नतिर्दा कपडा नै जफत गरेको थियो ।’, नाम नछाप्ने सर्तमा व्यापारीले भने ।

यद्यपी, असई साह भने तस्करसँग असुली गरिरहेको विषय अस्वीकार गर्दै आइरहेका छन् ।

यो पनिः

प्रहरी र तस्करबिच ‘सेटिङ’, असुली गर्ने असई  

Author:



क्याटोगरी छान्‍नुहोस