सन्तोष कुमार चौधरी
आम निर्वाचन २०७८ पछि राजनीतिक गतिविधिमा आएको शिथिलतामा बल्ल तरङ् उत्पन्न हुन थालेको छ । राजनीतिक क्रियाकलाप चरममा पुगेर निर्वाचन सकिएको हुन्छ । निर्वाचनपछि एकाएक राजनीतिक शून्यता उत्पन्न हुन सक्छ । तर नयाँ जनादेश लिएर आउने दलले केही अहं निर्णयहरु गर्दै राजनीतिक गतिविधिको शिथिलतालाई भंग गर्दछ । तर कदाचित पछिल्लो निर्वाचनयताको अवस्थामा त्यस्तो हुन सकेन । त्यस्तो किन हुन सकेन भन्ने सबालको जबाफ फेरि चुनाव नजिकिएर आएपछि मात्र प्राप्त हुनेछ ।
सरकारले राजनीतिलाई तरङ्गित पार्न नसकेको अवस्थामा त्यो दायित्व विपक्षले पूरा गर्दछ । तर विपक्षी राजनीतिक दल पनि सरकारमै सामेल हुने जुगाडमा लागी रहनाको कारणले राजनीतिक शिथिलै रहन गयो । विपक्षले किन राजनीतिक शिथिलतालाई चिर्न चाहेन, त्यस सबालको जबाफ पनि अहिले होइन, चुनावकै बेला आउने हुन्छ । तर अब आउने चुनावको बेलासम्ममा कुन दल कति बेला सत्तामा थियो र कति बेला विपक्ष थियो भन्ने कुराको ठीक ठीक हिसाब लगाउन नसकिने हुने हुनाले ती सबाल त्यत्तिकै तुहिएर जानेछ ।
जे भए पनि देशमा शिथिल रहेको राजनीतिलाई अहिले तरङ्गित तुल्याउने काम कुनै दल विशेषले होइन, कुनै व्यक्तिले गरेको छ । दुर्गा प्रसाई नामधारी एक व्यक्तिले महाअभियानको उद्घोष गरेर सरकार र प्रतिपक्ष दुबैलाई बार्दलीमा बाहिरिन बाध्य पारी दिएको छ । क्यारमको गोटी झैं हानेको ट्रिगरले सिधा सरकारलाई फिर्दा प्रतिपक्ष दुइटैलाई दुलोमा पुर्याई दिएको छ ।
प्रसाई अहिले मिडियामा हिरो बनेका छन् । खासमा सामाजिक सञ्जालमा ‘दुप्र’ नामको तुफानै मच्चिएको छ । युट्यूब च्यानल यिनलाई ‘लोकप्रिय सामाजिक अभियन्ता’ बनाउँदै रोमाञ्चित भएको छ । दुर्गा लोकल चुनावको बालेन र फेडरल चुनावको लामिछाने झैं भएका छन् । निर्वाचन आयोगले कुनै उपनिर्वाचन गरेर देखोस्, दुर्गाले लामिछानेहरुलाई पनि पछि पार्नेछन् । प्रसाइको खेदो खन्नेहरु पनि कम छैनन् तर उनीहरुको बोली अहिले बिकेको छैन ।
दुर्गा प्रसाईको महाअभियानको उद्देश्य के हो त्यो ठिक्याउन गार्हो छ । महाअभियानका लागि आन्दोलन थालेको बताउँछन् । गणतन्त्रले गर्दा धर्म–संस्कृतिको नाश भयो । समाजमा विग्रह र विभाजन पैदा भयो । उद्योगधन्दा धराशयी भयो । व्यवसाय गरेर खाने दिन गए । ऊर्जाशील युवा विदेशिए । गाउँमा मलामी पनि पाउन छोडिए । जहाजमा जाने, बाकसमा आउने अवस्था छ । देश सर्वत्र उजाडिएको छ आदि इत्यादि कुरा सर्वसाधारणलाई उत्तेजित पार्ने खालको छ । तालीको गडगडाहटमा सर्वसाधारणको पनि असन्तुष्टि बाहिरिएर आउँछ । राष्ट्रिय समस्याहरुको मूल जरो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता हो, जनताले चाहेमा गणतन्त्र जाने राजा आउने, संघीयता जाने काठमाडौंले नै फेरि शासन गर्ने, धर्मनिरपेक्षता हटने हिन्दूराष्ट्र बन्ने आदि कुराले पनि ठाउँ लिँदै गरेको देखिन्छ । सा–सानो सभा गर्दै अहिले राजधानीमै सभा सकिएको छ । बोलिँदै आएका कुरा दोहोरिएका छन् । आजलाई सभा सकिएको छ । अब भावी सभा कस्तो हुन्छ हेर्दै जानुपर्ने हुन्छ । तर सँगसँगै प्रसाईका प्रेडिक्सनलाई विचार्दै जानुपर्छ ।
मुलुकमा विद्यमान जनअसन्तुष्टिका कुराहरु सार्वजनिक रुपमा राख्नु बेठीक होइन । राष्ट्रिय समस्याको समाधानहरु लिएर जनताबीच जानु अनुचित होइन, नागरिकको कर्तव्य पनि हो । राष्ट्रको ठूलै उद्देश्य परिपूर्ति निमित्त अभियान वा आन्दोलन नै चलाउनु पनि अस्वाभाविक होइन । कुरो कहाँबाट सुरु भएर कहाँ गएर टुँगिन्छ भन्ने कुराको यकिन सुरुमै हुँदैन । तर यी कुराहरुको आकलन पनि सँगसँगै हुँदै गर्छ । दुर्गा प्रसाईले आफ्ना कुराहरु राख्दै गर्दा आफ्ना कुराहरुको मूल्यांकन पनि गर्ने गर्छन् होला । तर उनले जति सजिलो तरिकाले आफ्ना प्रतिक्रियाहरु पोख्छन्, ती कुराहरुको परिपूर्ति पनि त्यत्तिकै सजिलो छैन । राष्ट्रले अपनाएका राजनैतिक पद्धतिभित्रै राष्ट्रिय समस्याहरुको समाधन खोज्नु एक कुरा हो भने राष्ट्रिय समस्याहरुको समाधानको लागि राजनैतिक पद्धतिकै विकल्पका लागि संघर्ष गर्नु अर्को कुरा हो । दुईटै कुरो सँगसँगै राखेर गन्तव्य निर्धारण गर्न सकिदैन । यो, नभए त्यो अथवा त्यो नभए यो भन्ने मानसिकताले संघर्ष दृढ वा दिगो हुँदैन ।
मुलुकमा जनअसन्तुष्टिका कुराहरु छन् भन्ने असत्य होइन । जनसमस्याका कुराहरुमा लाग्न छाडेर सरकार र विपक्षका दलहरु सत्तास्वार्थमै अल्मलिई रहेको अवस्था छ भन्ने कुराहरु नागरिक समाजदेखि लिएर स्वयं सत्तारुढ र विपक्षी दलका नेताहरुले पनि राख्दै आएका छन् । जनसमस्याका कुराहरुको उठान गर्न स्वयं दलका नेताहरु नाकाम रहे दुर्गा प्रसाईले वा जो सुकैले पनि उठाउन सक्छन् । मुलुकको दैनिक प्रशासन चलाउनु मात्र राज्यसत्ताको काम होइन । जनअपेक्षाका काम कुराहरुको परिपूर्ति गर्नु उनीहरुको दोस्रो प्रमुख काम हो । त्यसमा अलमल भए वा दलहरु सरकार चलाउन असक्षम भए नयाँ जनादेशको लागि निर्वाचन त्यसपछिको विकल्प हुन्छ । तर एकै पटक व्यवस्था नै फालिदिनुपर्छ भन्ने कुरा कि त अबुझ वा अराजक गतिविधि बाहेक अरु केही हुन सक्दैन । मुलुकमा राजतन्त्र विफल भएरै गणतन्त्र आएको हो । एकात्मक शासन प्रणाली अफाप सिद्ध भएरै राष्ट्रले संघीयतालाई आत्मसात गरेको हो । धर्मनिरपेक्षताको कुरामा धेरै धेरै मानिस भ्रममा परेका छन् ।
राज्यको धार्मिक सापेक्षता वा धार्मिक निरपेक्षतालाई निष्पक्षतापूर्वक मूल्यांकन नगरी गरिने कुरा पक्षपाती हुनेछ । धर्म विशेषको बाहुल्यतालाई धार्मिक सापेक्षताको आधार मान्नु कुतर्क हो । यहाँको राज्य वा न्याय व्यवस्था प्राचीन धार्मिक विधिमा आधारित छैन । धार्मिक अहंकारमा राजनीतिक पद्धति अडन सक्दैन । मुलुकमा राजतन्त्र र एकात्मक व्यवस्था फाल्ने तथा गणतन्त्र एवं संघीयता व्यवस्था ल्याउने कारण र कारक शक्ति तत्वको विश्लेषण र मूल्यांकन नै नगरी फू–मन्तर गर्दैमा गणतन्त्र र संघीयता उडेर जान्छ भन्नु मनोगत कुरा मात्र हुनसक्छ । तर यी कुराहरुदेखि बाहेक अर्कै कुनै निहित स्वार्थ साध्ने कुरा वा कुनै खास पक्षको इसारामा जनताको नाडी छाम्ने एक अर्को कोसिस मात्र हो भने यति धेरै शब्द खर्चिनु शब्दहरुको दुरुपयोग मात्र भएको बुझिनेछ ।
(लेखक मधेशलाइभका प्रधान सम्पादक हुन् ।)