परमादेशपछि अध्यक्ष यादवको पत्रकार सम्मेलन–मोबाइल कसैले लिएकै हो तर मैले डाँका गरेको छैन् 

राजविराज, ३० मंसिर । चोरी डाँका मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि सो प्रकरणका आरोपित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले मुद्दामा जिकिर गरिएका मोबाइलबारे प्रस्ट्याएका छन् ।

शनिवार अध्यक्ष यादवले पत्रकार सम्मेलन गर्दै भने, ‘मुद्दा गरेका निवेदकको मोबाइल कसैले लिएकै हो तर मैले डाँका गरेको छैन् ।’ उनले आफु लिएको सावित भए कानूनअनुसार भोग्न तयार रहेको बताए ।

उनले परमादेशपछि मिडियामा आएको समाचारप्रति गुनासो गरे । ‘परमादेशबारे मलाई जानकारी पनि छैन् र विभिन्न मिडियामा फोटोसहितका समाचार देखेँ, मेरो प्रतिक्रिया नलिएकोमा दुःखी छु’ उनले भने, ‘गत असार २४ गते भएको घटनामा मोबाइल हराएको विषय जानकारी छ, कसैसँग होला तर आरोप लगाएअनुसार मैले खोसेको छैन् ।’

उनले ती विषयमा बसेर समाधानको बाटोमा अघि बढ्न पनि निवेदकसँग पत्रकार सम्मेलनमार्फत आग्रह गरे ।

जिल्लाको रुपनी गाउँपालिका–१ कै किरण कुमार जयसवालले ५१ वर्षीय अध्यक्ष यादवसहित वडा नम्वर १ कै निवर्तमान वडाध्यक्ष ३५ वर्षीय पिताम्बर यादव, सोही ठाउँका २७ वर्षीय राम यादव र २ का ३२ वर्षीय सरोज यादवले हातपात गर्दै डाँका गरेको भन्दै गत साउन २३ गते नै अदालतमा मुद्दा दिएका थिए ।

सो मुद्दामा मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, प्रहरी उपरीक्षक, जिल्ला सरकारी वकिल कार्यालय र कार्यालय प्रमुखको नाममा परमादेश जारी भएको हो । जयसवालले दिएको मुद्दामा ती चारै जनाले हातपात गर्दै पालिकामा भ्रष्टाचार भएको तथ्यगत प्रमाण रहेको २५ हजार पर्ने मोवाइल चोरी डाँका गरेको उल्लेख रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस