तस्करीको ‘हटस्पट’ झुटकी नाका : प्रहरीको सेटिङमा तस्करी, बालबालिकाको प्रयोग

राजविराज–तस्करीको ‘हटस्पट’ बनेको सप्तरीको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकामा बालबालिका प्रयोग हुने गरेको पाइएको छ ।

सीमावर्ती क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकाले बैलगाडामा मदिरा लोड गरिरहेको अवस्थामा पाइएपछि तस्करीबारे खुल्न आएको हो । सो नाकामा दैनिक साँझ परेपछि बैलगाडामार्फत खुलेयाम तस्करी हुँदै आएको स्थानीयहरु बताउँछन् ।

‘राजविराजसहितका अन्य स्थानबाट विहानसम्म नै कमलपुरमा मदिरा आइपुगेको हुन्छ अनि साँझ परेपछि बालबालिकालाई बोलाएर बैलगाडामा लोड गर्न लगाउँछन्’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘त्यसपछि केही बालबालिकालाई त्यही बैलगाडामा चढाएर अन्ध्रामण्ठ (भारत विहार राज्यको बजार)सम्म लान्छन् र अनलोड गर्न पनि लगाउँछन् ।’

कम लागतमा ढुवानी गर्न र तस्करीको काम गराउन सहज हुने गरेकोले गरिब दलित बालबालिकाको प्रयोग अलिक बढी नै रहेको उनको कथन छ । ‘बैलगाडाभरि लोड गर्नेदेखि अनलोड गर्नेसम्मको काम गर्दा उनीहरुलाई डेढ सयदेखि तीन सय रुपैयाँसम्म दिने गर्छन्’ उनले थपे, ‘स्कुले बालबालिका रहेकोले तस्करी गराइरहेको कुरा नबुझेका कारण काम गर्न पनि अनाकानी गर्दैनन् ।’

विहार राज्यमा पर्ने मधुबनी जिल्लाको अध्रामण्ठ, औरही, छत्तापुर, कलुवाही, दुधैला, लौकहीसहितका ग्रामिण बजारहरुमा रहेको दैनिक लाखौं रुपैयाँको मदिराको माग झुटकी नाकाबाट पुर्याइने गरेको उनको भनाई छ ।

‘विहारमा मदिरा बिक्री–वितरणमा रोक लगाइएदेखि नै यो नाकाबाट दैनिक लाखौं रुपैयाँको मदिरा ठुलठुला बजारसम्म पु¥याउन तस्करका गिरोह नै सक्रिय छन्, प्रहरी प्रशासनलाई जानकारी नभएको होइन, सबैको मिलोमतोमा नै तस्करी हुँदै आएको विषय हो, पछिल्लो समय आएर बालबालिकाको प्रयोग बढेको देखिन्छ ।’

प्रहरीसँग ‘सेटिङ’ 

मदिरा लोड हुने कमलपुरदेखि केही दुरीमै रहेको प्रहरी चौकी झुटकी । सो चौकीको पूर्वतर्फ रहेको नहरको बाटो भएरै मदिरा लोड गरिएको बैलगाडा जान्छन् । तर, दैनिक बैलगाडामा लोड गरिएको मदिरामाथि बालबालिका चढेर ओहरदोहर भइरहदा समेत प्रहरी मौन हुन्छन् ।

त्यसपछि सो बाटो भएर बोर्डरमा पुग्ने बैलगाडालाई बोर्डर आउट पोष्ट बनैनियाका प्रहरीले नै सघाउने गरेको श्रोतले बताए । ‘मदिरा तस्करले तस्करीको ‘लाइन’का लागि मासिक रुपमै प्रहरीलाई मोटो रकम बुझाउँछ र बोर्डरमा छिर्न बोर्डर आउट पोष्ट बनैनियाका प्रहरीले समय निर्धारण गर्छन्’ उनले भने, ‘प्राय अवरोध हुँदैन, कहिले काहीँ एसएसबी (भारतीय सीमा सुरक्षा बल) ले अवरोध गरेपछि मात्रै मदिरा तस्करी रोकिन्छ ।’

प्रहरी बरिष्ठ नायव निरीक्षक अबधलाल साह सोनारले आफुहरुले त्यस्तो कुनै लाइन मिलान नगरेको बताए । ‘तस्करी भएकै छैन्, कुनै काममा बालबालिका प्रयोग भएको हो भन्ने त्यो गलत हो’ उनले भने, ‘त्यसमा हामी पनि सचेत रहन्छौं ।’

बोर्डर आउट पोष्ट बनैनियाका सशस्त्र प्रहरी निरीक्षक ओरेन तामाङ्गले लुकीछिपी मदिरा लिएर गएको हुनसक्ने बताए । ‘तर, हाम्रो मिलोमतो छैन्’, उनले भने ।

यता, सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजका प्रहरी उपरीक्षक धनबहादुर सिंहले आवश्यक कुरा बुझेर प्रतिक्रिया दिने बताए । ‘के रैंछ म बुझ्दैछु’, उनले भने, ‘आफु समक्ष त्यस्तो कुनै पैसा आउँदैन र आएको पनि छैन् ।’ आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस