एनआईसी एसिया बैंकको ‘स्क्याम’ प्रकरण : प्रबन्धक यादवसहित ३ जना आरोपित पुगे करागार

राजविराज, २ पुस – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा प्रबन्धकसहित तीन जना आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सोमबार सप्तरी जिल्ला अदालतका न्यायाधिस नवीनकुमार जोशीको एकल इजलासले बैंकका प्रबन्धक संतोशकुमार यादव, भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मा र व्यवसायी मो.सदाम पुर्पक्षका लागि कारागार चलान भएका हुन् । तीनै जनालाई राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज नेउपानेले बताए ।

‘स्क्याम’पछि गत वैशाखको दोश्रो साता प्रबन्धक यादवसहितका १० जनाविरुद्ध सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीसँगै उनीहरु फरार भएका थिए ।

मंसिर १० गते आइतवार मात्रै प्रबन्धक यादव प्रहरी समक्ष उपस्थित भएपछि भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर शर्मा र व्यवसायी मो.सदाम पनि प्रहरी समक्ष पुगेका थिए ।

गत माघ २२ गते बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरिएको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको ‘स्क्याम’ ‘मधेशलाइभ’ ले खुलासा गरेको थियो ।

श्रोतकाअनुसार बैंकका प्रबन्धक यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरसँग मिलेर राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी खडा गरेका थिए ।

सोही जग्गा धनी प्रमाण–पत्रको आधारमा रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेर गत माघ ९ गते नै घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई ऋण प्रवाह गरेको थियो ।

‘स्क्याम’ बाहिरिएसँगै गत माघ २९ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो भने फागुन ११ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ को कार्यालयले पनि किर्ते चारकिल्ला कागजातबारे आवश्यक छानविन गरी कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको थियो ।

उक्त ‘स्क्याम’का अन्य सात जना आरोपित भने अझैं फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस