अनियमितताको अखडा बन्यो सुरुङ्गा : भएन सडक ढलान तर १० लाख निकासा

राजविराज – वर्ष दिनमा सेवा–सुविधामै दुई करोड ८७ लाख रुपैयाँ खर्च गरेको विषय बाहिरिएपछि आलोचित बन्न पुगेका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर १० लाख रुपैयाँ झ्वाम पारेको खुलासा भएको छ ।

नगरपालिकाले गत वर्ष ‘साविक दौतलपुर ४ लठ्ठु चौधरीको घरदेखि पश्चिम जन प्रभात माविको पार्कसम्म आरसिसि ढलान’ कार्यमा ११ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, ढलान कार्य नहुँदै उक्त योजनाको १० लाख रुपैयाँ निकासा गरिसकेको पाइएको हो ।

‘गत वर्ष सडक ढलानका लागि ११ लाख छुट्याइयो र १० लाख निकासा पनि गरेको रैंछ तर हेर्नु कत्तै ढलान भएको छ ?, त्यसैले तपाईलाई स्थलगत अवलोकनका लागि बोलाए’ वडा नम्वर ३ बस्ने शिवशंकर चौधरीले भने, ‘काम नगरी बजेट झ्वाम पार्ने जनप्रतिनिधिले जनताको अपेक्षा र आवश्यकता कसरी बुझ्छ ।’

उनले जनप्रतिनिधिहरु अन्य योजनामा पनि हाकाहाकी लुट मच्चाएको आरोप लगाए । ‘हामी त जिल्लाको सुदुरमै छौं, सदरमुकाम बस्ने पत्रकारहरुलाई टाढा भएर होला प्राय यहाँसम्म आउनुहुन, त्यसैले होला निर्धक भएर ठोस योजनाको पनि बजेट पचाउँछन् जनप्रतिनिधि र कर्मचारी’ उनले भने, ‘पछिल्लो पटक तपाईले लेख्नुभएको समाचार देखेर फोन नम्वर पत्ता लगाएर फोन गरे ।’

सोही ठाउँका लठ्ठु चौधरीले आफ्नै घरको छेउबाट सुरु हुने भनिएको योजनामा अनियमितता गरेको हेर्दा मन दुखेसो गुनासो गरे । ‘मेरै नाम लठ्ठु चौधरी हो र मेरै घरदेखि पश्चिमतर्फ रहेको जन प्रभात माध्यमिक विद्यालयको पार्कसम्मको सडक आरसिसि ढलान हुनुपर्ने थियो तर ढलान कार्य गरेकै छैन्, बजेट निकासा भइसकेको कागज हेर्दा चित्त दुख्यो’ उनले भने, ‘यतिसम्म हाकाहाकी भ्रष्टाचार त नगर्नुपर्ने हो नि, हामी जस्ता निमुखा जनताले गुनासोबाहेक अरु के नै गर्न सक्छ र ।’ उक्त अनियमिमतामा संलग्न जनप्रतिनिधि र कर्मचारीहरुलाई कारबाही हुनुपर्ने चौधरीको माग छ ।

उता, केही साताअघि मात्रै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले स्थलगत निरीक्षणपछि मात्रै प्रतिक्रिया दिनसकिने बताए । ‘मलाई यहाँ आएको धेरै समय भएको छैन्, एक पटक स्थलगत निरीक्षण गर्छु अनि मात्रै केही भन्नसक्छु’ उनले भने ।

नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिका संयोजक समेत रहेका नगरपालिकाका उप–प्रमुख रुद्रबहादुर कार्कीले रकम निकासाबारे आफुलाई जानकारी नरहेको बताए । ‘रकम निकासाबारे लेखालाई सोध्नु’ उनले भने, ‘त्यस्तो रैंछ भने पत्रकार बोलाउनेलाई अख्तियारमा जान भन्नुस्, जो–जो फस्छ–फस्छ ।’

नगर प्रमुख गिता चौधरीले व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानिन् । ‘व्यस्त छु…व्यस्त छु…व्यस्तु छु ।’ भन्दै फोन काटेकी छन् ।

गत वर्ष मात्रै जनप्रतिनिधि र कर्मचारी मिलेर सेवा–सुविधामै २ करोड ८७ लाख ५ हजार ७ सय ३४ रुपियाँ खर्च गरेको केही साता अघि समाचार बाहिरिएको थियो । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस