राष्ट्रियसभा निर्वाचनः मधेश प्रदेशमा ३ सय ७३ मतदान, सांसद शर्मा मतदानबाट वञ्चित

जनकपुरधाम, ११ माघ । राष्ट्रिय सभा सदस्य पदका लागि विहीबार भएको मतदानमा मधेश प्रदेशमा ३ सय ७३ जनाले मतदान गरेका छन् ।

जनकपुरधाम स्थित ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’मा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानका लागि समय तोकिएको थियो । प्रदेशसभा तर्फका १०६ जना मतदाताले मतदान गरेका छन् भने स्थानीय तर्फ २६७ जनाले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार मधेश प्रदेशमा कूल मतदाता ३ सय ७४ रहेको छ ।
मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा १०६ जनाले मतदान गरेका छन् । महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्याकाण्डमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैद सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेश सभाका सदस्य  अभिराम शर्माले मतदानबाट वञ्चित भएका छन् ।
स्थानीय तहमा २ सय ६७ जना मतदाता रहेकोमा शत प्रतिशत मतदान भएको छ । मधेश प्रदेशमा २ पदका लागि ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुङ्गाना तथा जसपाबाट महिला तर्फ पूजा चौधरी उम्मेदवार छिन् ।
एमालेबाट अन्यतर्फ कुमारी विजेता झा र महिला तर्फ उषा देवी थरुनी रहेकी छिन् । जनमत पार्टीबाट अन्यतर्फ राम शङ्कर महासेठ उम्मेदवार छन् ।
Author:



क्याटोगरी छान्‍नुहोस