राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशबाट चौधरी र ढुंगाना निर्वाचित

जनकपुरधाम–राष्ट्रिय सभा सदस्य पदका लागि मधेश प्रदेश प्रदेशबाट सत्तारुढ गठबन्धनका पूजा चौधरी र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

महिला कोटातर्फ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीकी चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो ।

अन्य कोटा तर्फबाट नेपाली काँग्रेसकी ढुंगानाले ७ हजार ३७० मतभार पाएर निर्वाचित भएकी हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए ।

एमालेका बिजेता झाले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ । कूल ३ सय ७४ जना मतदाता रहेको मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्यमध्ये १०६ जनाले मतदान गरेका थिए ।

महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्याकाण्डमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैद सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेश सभाका सदस्य अभिराम शर्माले मतदान गर्न पाएन ।

स्थानीय तहमा २ सय ६७ जना मतदाता रहेकोमा शत प्रतिशत मतदान भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस