कठौना बजारको जग्गा हडप्न चलखेल

राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारको जग्गा हडप्न चलखेल भइरहेको पाइएको छ ।

२०२६ सादेखि नै उक्त जग्गाको विटौरी कर वापतको रसिद काट्दै आएको थियो । तर, पछिल्लो समय वडा कार्यालयले रसिद काट्न रोक लगाएका कारण उठीवास हुने चिन्ताले पिरोलिएका स्थानीयले चौतर्फी गुहार गर्न थालेपछि चलखेलको विषय बाहिरिएको हो ।

सो ठाउँका प्रेमकुमार गुप्ताले ९० परिवारले वर्षौदेखि उपभोग गर्दै आएको जग्गा हडप्न चलखेल दावी गरे । ‘साविक मोहनपुर–५ (क) को साविक कित्ता नं.१७, १८, १९, २०, २१, ३५६, ४०१, ४०२, ४४०, ४४२, ५४४ र हालको कित्ता नं.७३५ तथा (ख) को साविक कित्ता नं.६१, ६२, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, र हालको कित्ता नं. ४०७, ४८५, ७६१, ७६२, ७६४, ७७५, ७५६, ७३२, ७७६, ९४८, ९४९, ५३२ र ७५५ गरी ८२ वटा प्लटको हामीले ०२६ सालदेखि विटौरी कर तिर्दै आएका छौं तर अहिले आएर अचानक रसिद नै काट्दैनन्’ गुप्ताले भने, ‘नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा क–कसलाई मालपोत रसिद पनि काटेको रैंछ, सो आधारमा हाम्रो पक्की घर समेत रहेको जग्गा अहिले विक्री नै हुन थालेको छ ।’

अर्का पीडित रामप्रसाद भगतले केही व्यक्तिलाई जग्गा हडप्नका लागि वडा कार्यालयले नै सघाइरहेको आरोप लगाए । ‘त्यो बेला हामीले समाज र गाउँ पञ्चायतको निर्णयअनुसार सानो प्लटको ७५ र अलिक ठुलो प्लटको डेढ सय रुपैयाँ तिरेका थियौं, र पछि त्यसमा पक्की घर बनायौं पनि । त्यसयता हामीले विटौरी कर तिर्दै आएका छौं’ उनले भने, ‘अहिले आएर वडा कार्यालयले जग्गा विक्री गर्नका लागि नक्कली सिफारिस समेत सरोकारबालालाई दिने गरेको पाइयो, तनाव दिएर वास्तविक घर र जग्गाधनिलाई उठिवास गराउने र जग्गा हडप्न उनीहरुको योजना रहेको छ ।’

आफ्नो कार्यकालमा पनि वडाका कर्मचारीले गडबड गर्न खोजेको स्वीकार गर्दै निवर्तमान वडाध्यक्ष मो.याकुब राइनले भने, ‘मेरो कार्यकालमा म काठमाडौं गएको बेला साइन गरेर राखेको लेटरप्याडको दर्ता चलानी विना नै गलत प्रयोग भएको थियो, त्यो कर्मचारीले गरेको हुनसक्छ, पछि मैले सुधार गरे ।’

अहिले फेरी पनि वास्तविक घर जग्गाधनिलाई उठीवास गराउने कार्य भइरहेको उनले भने, ‘अहिले जग्गा हडप्न भइरहेको प्रयास सरासर गलत हो, यो उहाँहरुकै जग्गा हो ।’, उनले भने ।

वडाध्यक्ष सतेन्द्रप्रसाद चौधरीले तत्काललाई विटौरी कर रसिद काट्न रोकिएको बताए । ‘अदालतबाट पत्र आएको छ भन्दै विटौरी र लालपुर्जा दुवै रोकौं भनि वडा सचिव ज्यूको सल्लाहअनुसार निर्णय गरेर तत्काललाई रोकेका छौं’ उनले भने, ‘पछि फुकुवा हुन्छ ।’

उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले अदालतबाट भएको आदेश कार्यान्वय गर्ने क्रममा वडा कार्यालयले विटौरी रसिद काट्न रोकेको प्रतिक्रिया दिए । ‘यसअघि विटौरी रसिद वास्तवमै काटिएको हो तर जग्गाधनि भनिनेले अदालतमा मुद्दा हालेपछि ती जग्गाको मालपोत काट्नका लागि आदेश भएको रैंछ’ उनले भने, ‘अब एउटै जग्गाको विटौरी र मालपोत काटिने त भएन, समस्या त्यो आएको हो ।’

उनले त्यहीँ कारणले सबै पक्षलाई राखेर छलफल आवश्यक रहेको बताए । ‘अस्ती पनि मेरै पहलमा छलफल राखिएको थियो तर समन्वय नहुँदा र विदा रहेकोले म उपस्थित हुन सकिनँ, अब कसरी आगाडी बढ्ने विषयमा छलफलकै आवश्यकता छ ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस