सरकारी सवारीको दुरुपयोग रोक्न सडकमा सांसद

राजविराज – विदाका दिन सरकारी सवारी साधनको भइरहेको दुरुपयोग नियन्त्रण गर्न वडाध्यक्षदेखि मधेश प्रदेशका सांसदसम्म सडकमै उत्रेका छन् ।

उनीहरुले शनिवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कल्याणपुरमा सरकारी नम्बर प्लेटको गाडी रोकी पास बिनाको सवारी चालकलाई कानूनको पालना गर्न आग्रह गरेका हुन् । ‘सार्वजनिक विदाका दिन सरकारी सवारी साधनको दुरुपयोग बढ्दो देखिन्छ’ प्रदेश सांसद माला कुमारी कर्णले भनिन्, ‘सरकारी सम्पत्तिको कसैले पनि दुरुपयोग गर्नु भएन र हामी सबैले कानूनको पालना गर्नुपर्छ ।’

नरबहादुर स्मृति प्रतिष्ठान शाखा सप्तरीकी सचिव समेत रहेकी सांसद कर्ण, खडक नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कमालउद्दिन मियाँ, वडा सदस्यहरु तुला चौधरी र काजल पासमान तथा संस्थाका सदस्यहरु देवनारायण प्रमाणी, निभा कुमारी चौधरी, कृतिक कुमार कर्ण (रौनक) लगायत सडकमा उत्रेका थिए ।

प्रतिष्ठानका अध्यक्ष ध्रुबकुमार मण्डलले नियम विपरित सरकारी कर्मचारीले विदाका दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेपछि संविधान कार्यान्वयन, कानूनको पालना र सुशासन कायम गर्नका निम्ति प्रतिष्ठानले ती गाडीलाई रोकेर सरकारी काम बाहेक नचलाउन आग्रह गरेको जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस