मन्त्रीसँग सेवाग्राहीको गुनासो–मालपोतमा पैसा नदिनेको काम नै हुँदैन [भिडिओ]

राजविराज, १ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले भूमि सुधार तथा मालपोत कार्यालय राजविराजमा छड्के अनुगमन गरेकी छन् ।

मंगलबार दिउँसो उनले मालपोतमा अनुगमन गरेकी हुन् । टोलीसहित विभिन्न फाँटमा अनुगमनपछि फर्कीन लागेकी मन्त्रीलाई मालपोतमा पैसा नदिनेको काम नै नहुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

‘अनाहकमा जालझेल गरेर कति दिनदेखि फर्कारहेका छन्, यहाँका कर्मचारीहरुले पैसा नदिनेको काम नै गर्दैनन्’ एक सेवाग्राहीले भनिन् । गुनासो सुनेपछि मन्त्री अनितादेवीले मालपोत प्रमुख केशव झालाई छिटो छरितो सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिइन । ‘कुनै पनि वहानामा सेवा प्रवाहमा ढिलासुस्ती हुनु भएन, कागजात पुगेको छैन् भने कुन–कुन कागजात पुगेको छैन्, स्पष्ट रुपमा टिर्पोट गरेर दिनुस् र नहुने काम हो भन्ने लिखित रुपमा दिनुस्’ मन्त्री अनिता देवीले भनिन्, ‘अनाहकमा सेवाग्राहीलाई दुःख दिनुभएन ।’

उनले सेवाग्राहीको चापअनुसार काममा तत्परता देखाउन पनि कर्मचारीलाई निर्देशन दिइन ।

टोलीमा मधेश प्रदेशका सांसदद्वय सतिशकुमार सिंह र मो.सकिल, मन्त्रालयका सह–सचिव कमल भट्टराई, हनुमाननगर कंकलिनी नगरपालिकाका नगर प्रमुख बीरेन्द्र माझी, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतको सहभागी रहेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस