कीर्ते गरी कठौनाको जग्गा किनबेच प्रकरणमा छानविन गर्न प्रहरीलाई पत्राचार

राजविराज, १६ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारको जग्गा कीर्ते सिफारिसका आधारमा किनबेच भइरहेको पाइएपछि छानविन गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।

मधेशलाइभ’ले सो विषय सार्वजनिक गरेसँगै वडा कार्यालयले कीर्ते प्रकरणमा छानविनका लागि आइतवार प्रहरीलाई पत्राचार गरेको हो ।

०८० माघ २९ गते चलानी नम्वर ४४८ उल्लेखित वडा कार्यालयको पत्र जिल्ला प्रहरी कार्यालयमा दर्ता नम्वर २९४९ मा दर्ता भएको छ । पत्रमा कीर्ते सिफारिसको आधारमा जग्गा किनबेच भइरहेकोले आवश्यक छानविन गरी कारबाहीको लागि अनुरोध गरिएको छ ।

‘०७७/०७८ मा मिति २०७७/१०/१५ गते च.नं.४४४ मा यस वडा कार्यालयबाट महिनारायण चौधरीलाई सिफारिस र च.नं.४४५ मा गंगाराम ठाकुरलाई जन्मबमोवासको सिफारिस जारी भएको विषय अवगत गराउँदै साविक मोहनपुर गाविस वडा नं.७ बस्ने इन्द्रनारायण चौधरीले सोही च.नं.(४४४ मा जग्गाको मुल्यांकन र ४४५ मा घरबाटो प्रमाणित) सिफारिस उल्लेखित कीर्ते सिफारिस पत्र विभिन्न कार्यालयमा पेश गरेको’ पत्रमा भनिएको छ, ‘उक्त सिफारिस पत्रमा के कुन तरिकाले कार्यालयको छाप हस्तखत कीर्ते गरी भूमि सुधार तथा मालपोत कार्यालय राजविराजमा समेत पेश भई साविक गाविस–५(ख) को कि.नं.९४८ को ०–२–१४–० जग्गा पनि खरिद विक्री भइसकेकोले पत्रपत्रिकामार्फत जानकारी पाएकोले आवश्यक छानविन गरी कारबाहीको लागि सादर अनुरोध छ ।’

उक्त पत्रबारे नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको छ ।
प्राप्त प्रमाणअनुसार पूर्व पश्चिम राजमार्गसँगै दक्षिणतर्फ रहेको उक्त जग्गा ५१ लाख ८१ हजार रुपैयाँ (थैलीअनुसार) तिरेर सिरहाको खरुकयाही–१ बस्ने मोहित मण्डलकी पत्नी गंगाकुमारी मण्डलले खरिद गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढृण्डीराज नेउपानेले पत्र पाएसँगै अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । ‘पत्र दर्तामा आएको होला, म कहाँ आइपुगेको छैन्’ उनले भने, ‘म कहाँ आएसँगै कानून अनुसार अघि बढ्नेछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस