जनप्रतिनिधिविरुद्ध कुटपिटदेखि हत्यासम्मको आरोप तर प्रहरीले दर्ता गर्दैनन् जाहेरी !

राजविराज–सप्तरीको राजविराज नगरपालिका–१४ प्रसाहीकी ४० वर्षीया शुशिला देवी मण्डलले छोराको हत्या भएको भन्दै वडा अध्यक्ष जगदिश मण्डलसहित १२ जना विरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, १० दिनसम्म दैनिक दौडधुप गराउँदा पनि प्रहरीले जाहेरी लिन मानेनन् ।

त्यसपछि उनी बाध्य भएर न्याय गुहार्न जिल्ला सरकारी वकिल कार्यालय पुगिन् । गत जेष्ठ २४ गते सरकारी वकिल कार्यालयले चलानी नम्वर ३६८० बाट आवश्यक कारवाहीका लागि पत्राचार गर्दा पनि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएन ।

शुशिलाले जाहेरी दर्ताकै लागि अदालतको पनि पुगिन् । परमादेशको (०७९–डब्लुओ–९०७) आदेश माग गर्दै उनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरिन् । हाल उक्त मुद्दा कारवाहीयुक्त प्रक्रियामा रहेको जनाएको छ ।

शुशिलाका अनुसार वडाध्यक्ष मण्डलसहित शुशिलाकै ससुरा शिवनारायण मण्डल, जेठानी रीतादेवी मण्डल, सोही ठाउँका रामदेव मण्डल, मोहन मण्डल, दिपक मण्डल, देवु मण्डल, इनरदेव मण्डल, चनरदेव मण्डल, रघुवीर मण्डल, अजीतकुमार मण्डल र तिलाठी कोइलाडी गाउँपालिका–७ बस्ने कृष्णकुमार मण्डल मिलेर १५ वर्षीय छोरा रामकुमार मण्डलको हत्या गरेका छन् ।

विगतमा चलिरहेका विभिन्न मुद्दाको रिसीवीका कारणले गत जेष्ठ ९ गते राति हत्या गरेर रुखमा झुण्डियाइ दिएको शुशिलाको आरोप रहेको छ । ‘उनीहरुले मिलेर मेरो एक्लो छोरालाई मारिदियो, पटक पटक जिल्ला प्रहरी कार्यालय पुगे, डिएसपी सा’बसँग पनि भेट गरे तर जाहेरी दर्ता गरिदिनुभएन’ उनले भनिन्, ‘न्यायको लागि चौतर्फी गुहार्दै छु तर वडाध्यक्ष भएरै होला मेरो कुरा कसैले पनि सुनिरहेको छैन् ।’

उनले न्यायमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरिन् ।
……………………………………………………………………………………………………………..

जिल्लाको रुपनी गाँपालिका–६ तेरहौताकी ५० वर्षिया सुनरीदेवी चौधरी र ५५ वर्षिया बच्चादेवी चौधरीले फागुन ५ गते शनिवार पत्रकार सम्मेलन गर्दै वडा नम्वर ५ का वडाध्यक्ष गंगाराम यादवले निर्घात कुटपिट गरेको दुखेसो गरेकी थिइन् ।

ऋण लिए वापत धितो राखेको पुरै जग्गा वडाध्यक्ष यादवले कब्जा गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘वडाध्यक्षले चर्काे ब्याज लिए नै र सो रकम तिरेर पनि धितो वापत राखेको जग्गा फिर्ता गर्न मानेनन्’ नेपाल पत्रकार महासंघमा गरिएको पत्रकार सम्मेलनमा सुनरीदेवीले भनिन्, ‘प्रहरीमा उजुरी गर्दा आफुहरुलाई कुटपिट गर्यो ।’

वडाअध्यक्ष यादवकै अगुवाईमा गत माघ ७ गते वडा कार्यालय नजिकैको सडक खण्डमा आफुहरुलाई कुटपीट गरी घाइते बनाएको उनको दुखेसो छ । ‘आफुमाथि आक्रमण हुँदा बचाउन आएकी बच्चादेवी समेतलाई निर्घात कुटपिट गर्यो, उपचारमा लागेको खर्च भएको ५० हजार रुपैया पनि ऋण सापटी लिनु परेको छ तर हामीलाई सुनिदिने कोही छैन् ।’

उनका अनुसार ८ वर्षअघि २ लाख रुपैया वडाध्यक्ष यादवसँग ऋण लिए वापत सोही पालिकास्थित १४ कठ्ठा ३ धुर जग्गा धितो वापत पास गरीदिएकी छन् ।

……………………………………………………………………………………………………………..

सप्तरीको रुपनी गाउँपालिकाकै अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाले चोरी–डाँका गरेको भन्दै सोही गाउँपालिका–१ का किरणकुमार जयसवाल (राजु) असार २६ गते जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे ।

अध्यक्ष यादवसहित सोही ठाउँका २७ वर्षीय राम यादव, ३५ वर्षीय पिताम्वर यादव र ३२ वर्षीय सरोज यादवले असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै कमिसनको प्रमाण रहेको मोबाईल चोरी–डाँका गरेको उनको जाहेरी छ । तर, प्रहरीले आलटाल गर्दै महिना दिन विताए । प्रहरीले जाहेरी दर्ता नगरेपछि न्याय गुहार्दै जयसवालले परमादेशको आदेश माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरे ।

उक्त मुद्दामा गत मंसिर २२ गते अदालतका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासबाट जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भयो । उच्च सरकारी वकिल कार्यालयमार्फत गत माघ २४ गते नै सप्तरी प्रहरीलाई परमादेशको जानकारी पुगे पनि जाहेरी भने अझैं दर्ता गरेको छै्रन् ।

तर, फागुन १२ गते शनिवार जिल्लाको कल्याणपुरस्थित एक कार्यक्रममा सहभागी हुन आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आम जनताहरुको पक्षमा रहेको बताउँछन् । सप्तरी प्रहरीले जनप्रतिनिधि विरुद्ध जाहेरी दर्ता गर्न अनाकानी गर्ने गरेको भनि मधेशलाइभको प्रश्नमा उनले भनेका थिए, ‘मलाई तथ्य थाहा छैन्, म बुझ्छु । हाम्रो सरकारले कडाइपूर्वक भनेको छ । कोहीँ ठुलोबडा हुँदैन । सबै समान छन् । धनि होस्, गरिब होस् । पहुँचबाला होस्, पहुँच नभएकाहरु होस् ।’

उनले हाम्रो सरकार आम जनताको पक्षमा रहेको र कुनै पनि पक्षपातको नीति नलिएको भनिरहदा पनि सप्तरी प्रहरीको रबैया भने आमजनताभन्दा पनि जनप्रतिनिधि मोहमा लिप्त रहेको स्पष्ट हुन्छ ।

उता, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज नेउपाने कानून विपरित गर्ने छुट कसैलाई पनि नरहेको बताए । ‘सप्तरी प्रहरी जनताकै पक्षमा छ, जयसवाल ज्यूको मुद्दामा सनाखत भइसकेको छ र अब मुद्दा दर्ता हुन्छ’ उनले भने, ‘अन्य सबै विषयमा म बुझ्दैछु र कानूनअनुसार हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस