एनआईसी एसिया बैंकको ‘स्क्याम’ प्रकरण : थप एक आरोपित पक्राउ

राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । यादवलाई शुक्रबार दिॅंउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

‘शुक्रबारै यादवलाई अदालतमा हाजिर गरिएको छ’, उनले भने । पक्राउ परेका यादव लेखापढी व्यवसायी हुन् । ‘स्क्याम’पछि गत वैशाखको दोश्रो साता प्रबन्धक संतोशकुमार यादवसहितका १० जनाविरुद्ध सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीसँगै उनीहरु फरार भएका थिए ।

यसअघि गत मंसिर १० गते आइतवार बैंकका प्रबन्धक  यादव प्रहरी समक्ष उपस्थित भएपछि भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मा र व्यवसायी मो.सदाम पनि प्रहरी समक्ष पुगेका थिए ।

गत पुस २ गते सप्तरी जिल्ला अदालतका न्यायाधिस नवीनकुमार जोशीको एकल इजलासले तीनै जनालाई  पुर्पक्षका लागि कारागार चलान गरेका थिए ।

गत माघ २२ गते बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरिएको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको ‘स्क्याम’ ‘मधेशलाइभ’ ले खुलासा गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस