कुर्था–जयनगर रेलमा तस्करी : बाँडफाड नमिल्दा सशस्त्र प्रहरीमाथि नै हातपात

जनकपुरधाम, ३ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा तस्करी भइरहेको खुल्न आएको छ । बाँडफाड नमिल्दा शनिवार दिउँसो सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि सो विषय बाहिरिएको हो ।

कुर्था–जयनगर रेलखण्ड अन्तर्गत वैदेही स्टेशन/हल्टस्थित सशस्त्र प्रहरीमाथि हातपात भएको छ । ‘बोरामा प्याक गरि लोड गरिएको अवैध समान सशस्त्र प्रहरीले चेकजाँच गर्न खोजेका थिए तर सदा पोशाकका नेपाल प्रहरीले मसँग कुरा भइसकेको भन्दै चेकजाँच गर्न रोक्न खोजेका थिए’ नाम नछाप्ने सर्तमा स्थानीय एक प्रत्यक्षदर्शीले भने, ‘सोही विषयलाई लिएर सशस्त्र प्रहरीका जवान सुजन गौतम र अन्य एक प्रहरीलाई ती सदा पोशाकका प्रहरीले धक्कामुक्की गर्दै हातपात नै गरे ।’

सोही क्रममा रेल्वेका कर्मचारी र अन्य स्थानीय व्यक्तिहरु आएपछि घटना सामसुम भएको उनले बताए । ‘जनकपुर आएपछि सशस्त्र प्रहरीले केही समान पनि बरामद गरेको छ’ उनले भने, ‘खासमा रेलमा हुँदै आएको तस्करीमा बाँडफाँडको मात्रा नमिलेर त्यस्तो विवाद भएको हो ।’

सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेडक्वाटर धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले दुई/तीन पोका समान चेकजाँच गर्ने विषय मात्रै रहेको र हातपात नभएको प्रतिक्रिया दिए । ‘तस्करीको कुरा होइन, तस्करी शून्य छ । हातपातै त भएको छैन् समान्य भनाभन भएको हो’ उनले भने, ‘हातपातको कुरा मलाई रिर्पोटिंग छैन् ।’

उता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सदा पोशाकमा प्रहरी खटाइएको विषय स्वीकार गरे । ‘त्यस्तो हातपातै भएको विषय मलाई रिपोर्ट छैन्, काम गर्ने विषयमा समान्य भनाभन भएको हो’ उनले भने, ‘थप कुन टोली गएको रैंछ म बुझ्दैछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस