नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर

काठमाडौं–पर्साको धोबिनी गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनमदेवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सहजकर्ता कुर्मीले शैक्षिक योग्याताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा कुर्मीले महेश्वर प्रसाद सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी २०६६ असार १२ गतेदेखि सहजकर्ता पदमा नियुक्त भएको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

कुर्मीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा कुर्मीलाई सोही ऐनको दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस