युवालाई स्वदेशकै विकासमा आबद्ध गर्न सक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताएका हुन् ।

‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न सबैलाई अनुरोध गर्दछु’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।’

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह समेत गरेका छन् । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु ।’

यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना समेत दिएका छन् । राष्ट्रपति पौडेलले विकास सहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ, सफा पृथ्वी बनाउन आह्वान समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस