दलित बालबालिकाका लागि ल्याइएको ‘टिफिन बक्स’मा अनियमितता

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दलित बालबालिकाका लागि ल्याइएको ‘टिफिन बक्स’मा अनियमितता भएको पाइएको छ ।

गाउँपालिकाले गत वर्ष १ हजार ४० वटा ‘टिफिन बक्स’ खरिद गरिएको भन्दै आयुष ट्रेडर्स एण्ड सप्लायर्सलाई ९ लाख ८५ हजार ६६० रुपैयाँ भुक्तानी दिएको थियो । तर, गाउँपालिकाको स्टोरमा भने २४० वटा ‘टिफिन बक्स’ मात्र देखिएको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ ।

८ सय वटा ‘टिफिन बक्स’ को बिल मात्र पेश गरेर उक्त भुक्तानी लिएको छ । उक्त ‘टिफिन बक्स’ वापतको ७ लाख ५७ हजार ५५२ रुपैयाँ असुल उपर गर्न भनिएको छ ।

त्यस्तै, छात्रवृत्ति वितरणमा पनि ४ लाखबढी भुक्तानी दिएको पाइएको छ । गाउँपालिकाले गत असारको १९ गते छात्रवृत्ति वापत ११ लाख ५६ हजार ३ सय रुपैयाँ निकासा दिएको छ । तर, छि.भू संस्कृति माध्यमिक विद्यालय सखडा, राप्रावि भटोतरी, माध्यमिक विद्यालय लालपट्टी र जनता माध्यमिक विद्यालय कोचाबखारीले छात्रवृत्ति वितरण नै गरेको छैन् ।

छिन्नमस्ता भूपेन्द्र संस्कृति माध्यमिक विद्यालय सखडासँग २ लाख ६ हजार ५ सय, राप्रावि भटोतरीसँग १० हजार ८ सय, माध्यमिक विद्यालय लालपट्टीसँग १ लाख ७ हजार ६ सय र जनता माध्यमिक विद्यालय कोचाबखारीसँग १ लाख ४ हजार ५ सय रुपैयाँ तथा राप्रावि हाटीसँग ७ हजार ६ सय, महन्थ राप्रवि बरही विरपुरसँग १२ हजार ४ सय, आधारभूत विद्यालय बरहीविरपुरसँग २ हजार ८ सय, जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीसँग २२ हजार ८ सय गरी कुल ४ लाख ७५ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस