सप्तरी प्रिमियर लिगको उपाधिमाथि तिरहुत टाइगर्सको कब्जा 

राजविराज–सप्तरीमा भएको छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधिमाथि तिरहुत टाइगर्सले कब्जा जमाएको छ ।

सोमबार पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले हराउँदै उपाधि हात पारेको हो । जितसँगै तिरहुतले उपाधिसहित ३ लाख रुपैयाँ हात गरेको छ भने उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

तिरहुत टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमाएको थियो ।

छिन्नमस्ताको लागि बिशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । राष्ट्रिय क्रिकेटर भिम शार्की उसका ४ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।

तिरहुतको बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै प्लेयर अफ द म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिंग रोजेको तिरहुत टाइगर्सले निर्धारित १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो ।

तिरहुतकोलागि भोला कुमार साहले सर्वाधिक २९ रन योगदान दिए । छिन्नमस्ताको बलिंगमा बिशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी तिरहुत टाइगर्सका बसिर अहमद घोषित भए । बसिरले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए । त्यस्तै उत्कृष्ट बलर छिन्नमस्ता लायन्सका बिशाल पटेल घोषित भए । बिशालले ७ खेलमा १५ विकेट लिए ।

उत्कृष्ट ब्याटर कञ्चनरुप राइनोजका शुभ कंसकार घोषित भए । शुभले ७ खेलमा २९७ रन बनाए । त्यस्तै, उदयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए । सोहेलले ७ खेलमा १२ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुत टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए । प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिरुहत गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । सप्तरी क्रिकेट संघको आयोजनामा ११ दिन चलेको प्रतियोगितामा सप्तरीका ६ वटा स्थानीय तहका टिमहरु सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस