काम गरेको भुक्तानी नपाएको भन्दै भेटेरिनरी अस्पतालमा तालाबन्दी

राजविराज–काम गरेको भुक्तानी दिन आलटाल गर्दै आएको भन्दै निर्माण व्यवसायी संघ सप्तरीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजमा बिहिवार तालाबन्दी गरेको छ ।

अस्पतालको कार्यालय भवन निर्माण कार्यको ठेक्का पाएका राधाकृष्ण निर्माण सेवाले ८ महिनाअघि नै रनिङ बिलवापत ६६ लाख २६ हजार ५४२ रुपैयाँ गरेको थियो । तर, अस्पतालले काम गरेको पैसा दिन पनि वेवास्ता गर्दै आएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको संघका सचिव प्रमोद मण्डलले बताए । ‘निर्माण व्यवसायीको समस्या बुझ्नै चाहिरहेको छैन्’ उनले भने ।

राधाकृष्ण निर्माण सेवाका निर्देशक विनोद साफीले काम गरेको रनिङ बिलको भुक्तानी नपाउँदा अस्पतालको कार्यालय भवन निर्माण कार्य पनि रोकिनु परेको दुखेसो गरे । ‘०७९ माघ २२ गते पिपिएमओले कार्यालय भवन निर्माणका लागि आह्वान भएको इविडिङ्गमार्फत ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँमा हामीले ठेक्का पाएका छौं, सम्झौताअनुसार ०८१ असार १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ तर अस्पतालका कर्मचारीको बदमासीले रनिङ बिलकै भुक्तानी नपाउँदा समस्या भएको छ’ उनले भने, ‘गत असोज ३० गते नै भुक्तानी माग गर्दै पेश गरेको बिल अझैंसम्म पाएको छैन् ।’

काम गरे वापतको भुक्तानी मागेको ८ महिनाभन्दा बढी भइसक्दा पनि कर्मचारीले भुक्तानी गर्न अनाकानी गर्दै आएको निर्देशक साफीले बताए । ‘भुक्तानी नपाउँदा आफूहरुलाई दिनहुँ पसलेहरुबाट गाली–बेइज्जती सह्नुपरेको छ, समय तोकेर क्रेडिटमा निर्माण सामग्री लिएका थियौं तर काम गरेको भुक्तानी नपाउँदा उनीहरुको पैसा तिर्नै सकेको छैन्’ उनले भने, ‘यस्तोमा व्यवसाय गर्ने अवस्था नै रहेन, थप निर्माण कार्य कसरी अगाडी बढाउनू ?’

आफ्नो काममा कुनै प्रकारका त्रुटी भए कानूनअनुसार सहन तयार रहेको भन्दै निर्देशक साफीले भुक्तानी दिलाउने कार्यमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरे । ‘कर्मचारीहरुले अनावश्यक बहानाबाजी गरेर काम गरेको भुक्तानी दिन चाहिरहेको छैन्, भन्छन् टेन्डर प्रक्रियामै गडबडी छ तर मैले इविडिङ्गबाट टेन्डर लिएका छौं र यसअघि काम गरेको पहिलो किस्ता वापतको ५० लाख रुपैयाँ भुक्तानी पनि पाइसकेका छौ’ उनले भने, ‘यसअघि कार्यालय प्रमुख डा.प्रभातकुमार झा हुनुहुथ्यो, त्यसपछि आउनुभएका कार्यालय प्रमुख शंकर साहले भुक्तानी दिन अनाकानी सुरु गर्नुभयो, अहिले पुनः अर्को हाकिम आएका छन् र आजभोलीमै भुक्तानी रोकिएको छ ।’

अस्पतालका प्रमुख डा.राम पवित्र दासले आफु भुक्तानी दिन तयार रहे पनि लेखाका कर्मचारीले नमान्दा समस्या भएको बताए । ‘यद्यपी, समन्वय गर्दैछु’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस