राजविराज नगरपालिकामा नियम मिचेर मदरसालाई अनुदान

राजविराज–सप्तरीको राजविराज नगरपालिकामा गत वर्ष नियम मिचेर मदरसालाई अनुदान दिइएको पाइएको छ ।

धार्मिक विद्यालय अनुदान कार्यक्रम कार्यान्वयन पुस्तिका ०७९/०८० को क्रियाकलाप नम्वर २.७.१३.४९ को बुँदा नम्बर ६.२ मा कक्षा १ देखि ५ सम्म सञ्चालित परम्परागत विद्यालयलाई एकमुष्ट २ लाख ४१ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ । तर, नगरपालिकाले ती व्यवस्थालाई मिचेर मनोमानी रुपमा अनुदान दिएको पाइएको हो ।

मदरसा आशिनिया दारुल उलुम चनौरा, मदरसा रहमानिया दारुल कुरान जगदरी र मदरसा इस्लामिया जोलहरीलाई मनोमानी रुपमा अनुदान दिइएको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ । मदरसा आशिनिया दारुल उलुम चनौरालाई ७ लाख ६ हजार २२२ रुपैयाँ, मदरसा रहमानिया दारुल कुरान जगदरीलाई ३ लाख ८० हजार ९९४ रुपैयाँ र मदरसा इस्लामिया जोलहरीलाई ४ लाख १५ हजार ९१८ रुपैयाँ गरी कुल १५ लाख ३ हजार १३४ रुपैयाँ अनुदान दिइएको छ ।

प्रतिवेदनअनुसार मदरसा आशिनिया दारुल उलुम चनौरालाई ४ लाख ६५ हजार २२२ रुपैयाँ, मदरसा रहमानिया दारुल कुरान जगदरीलाई १ लाख ३९ हजार ९९४ रुपैयाँ र मदरसा इस्लामिया जोलहरीलाई १ लाख ७४ हजार ९१८ रुपैयाँ गरी कुल ७ लाख ८० हजार १३४ रुपैयाँ बढी अनुदान दिइएको छ । उक्त बढी अनुदान रकम मदरसासँग असुल गर्न प्रतिवेदनमा सुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस