राजविराज-समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितकालाई कारबाहीको माग गर्दै स्थानीयले धर्ना दिएका छन् ।
बुधबार गाउँपालिकाको परिसरमा धर्ना बसेका उनीहरुले अध्यक्ष मण्डलसहित घटनामा संलग्न व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
समाचार संकलन गर्न गाउँपालिका आएका पत्रकारहरुलाई गाउँपालिका अध्यक्षसहितकाले कोठामा थुनेर दुर्व्यवहार गर्नु दुखद् घटना रहेकोले त्यसको विरोधमा धर्ना बसेको स्थानीय रमाकान्त यादवले बताए ।
‘गत साउन २२ गते यस राजगढ गाउँपालिका परिसरमा अध्यक्ष ओम प्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलन गर्नकालागि आएका संचारकर्मीहरुलाई अध्यक्ष मण्डललगायतले उल्टै दुर्व्यवहार गरेको घटनाप्रति घोर निन्दा गर्दछु’, उनले भने, ‘सूचना सम्प्रेषण गर्ने संचारकर्मीहरुप्रति भएका दुर्व्यवहारको घटनामा दुख व्यक्त गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न माग गर्दछु ।’
गत साउन २२ गते नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् कान्तिपुर टिभीका सप्तरी सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन कुमार गुप्ता, कार्यसमिति सदस्य तथा नेपाल समाचारपत्रका सम्वाददाता एवम् मधेशलाइभका कार्यकारी सम्पादक विद्यानन्द राममाथि दुर्व्यवहार भएको थियो ।