काठमाडौं–सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पूर्वगृहमन्त्री लामिछानेलाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
अदालतले दिएको ६ दिनको समय सकिन लागेपछि लामिछानेलाई म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले अघिल्लो शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्गमार्फत शनिबार बिहान पोखरा ल्याएको थियो ।