काठमाडौं, १४ चैत: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट आफूलाई हटाइएको सरकारको निर्णय बदर गर्न माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार पेश गरिएको घिसिङको रिट निवेदन आज दर्ता भएको छ। उक्त विवादमा आउँदो शुक्रबार सुनुवाइ हुने जनाइएको छ।
रिट निवेदनमा उल्लेख गरिएको छ, “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय र सम्पूर्ण प्रक्रिया बदर गरी उत्प्रेषणको आदेश दिइयोस्। निवेदकलाई नियुक्ति मितिबाट चार वर्ष पूरा नहुँदै सेवाबाट हटाउने काम नगरियोस्, सेवामा नियमित रूपमा काम गर्न दिन आदेश दिइयोस्, र कुनै अवरोध सिर्जना नगरियोस्।”
चार महिना कार्यकाल बाँकी रहँदा, गएको सोमबार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।