काठमाडौं, १८ असार । सामाजिक सञ्जालमा चरित्रहत्या र अपाच्य टिप्पणी तथा मेसेजमार्फत उत्पीडन गरेको भन्दै गायिका एलिना चौहानले उजुरी दर्ता गराएकी छिन् ।
सोमबार उनले चार जना विरुद्ध उजुरी दर्ता गराएपछि सरकारका गृह मन्त्री रमेश लेखकसँग भेट गरी आवश्यक कारबाही र न्यायका लागि सहयोग मागेकी हुन् । चौहानले प्रहरी कारबाही नबढेको र गुनासोका विषयमा गृहमन्त्री लेखकसँग वार्ता गरेकी छिन् । भेटपछि मन्त्री लेखकले अनुसन्धानलाई तीव्रता दिन निर्देशन दिएको भन्दै उनले “तपाईँहरूको साथ र सम्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ” भनी कृतज्ञता व्यक्त गरिन् ।
उनले गृहमन्त्री लेखकसँग भेंटपछि फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेकी छिन्ः
म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पु¥याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन् । त्यसैले आत्म–सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ ।