गोलबजारमा विद्यार्थीमाथि यौन दुव्र्यवहारको आरोपपछि विद्यालयमा तोडफोड

गोलबजार, २३ असार । सिरहाको गोलबजार नगरपालिका–४ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विषयमा आक्रोशित स्थानीयवासीले विद्यालयमा तोडफोड गरेका छन् ।
विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि कक्षा ५ मा अध्ययनरत १३ वर्षीया बालिका रिना (नाम परिवर्तन) लाई संवेदनशील अंगहरूमा स्पर्श गर्ने र शारीरिक दुव्र्यवहार गरेको आरोप लागेको छ । पीडित बालिकाले आफ्ना अभिभावकमार्फत यो गुनासो गरेकी थिइन् । त्यसैगरी, अर्की ८ वर्षीया बालिका रमा (नाम परिवर्तन) ले पनि आफूमाथि यस्तै दुव्र्यवहार भएको बताएकी छन् ।

पीडित पक्षको गुनासोपछि आज (सोमबार) दिउँसो करिब १२ बजे आक्रोशित अभिभावक र स्थानीय बासिन्दाहरू विद्यालय पुगेका थिए । शिक्षक श्रेष्ठ विद्यालयमा अनुपस्थित रहेको थाहा पाएपछि उनीहरूले विद्यालयका प्रमुख प्रध्यापकको कार्यकक्षमा तोडफोड सुरु गरेका थिए। ढुंगामुढा प्रहारबाट विद्यालयका झ्यालका सिसाहरू फुटेका छन्।
तोडफोडका क्रममा फुटेको सिसाले विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंह र शिक्षिका रञ्जु कुमारी सिंहलाई हात, टाउको र खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली परिचालन गरिएको छ।
हाल विद्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका शिक्षक हरि श्रेष्ठको खोजी भइरहेको जनाइएको छ ।
Author:



क्याटोगरी छान्‍नुहोस