किसानको समस्या ज्यूँका त्यूँ : वर्षा नहुँदा धान रोपाइ प्रभावित

रामशंकर भण्डारी
राजविराज, २६ असार । सिंचाई अभाव र असार वित्नैलाग्दा पनि वर्षा नहुँदा सप्तरीमा धान रोपाइ प्रभावित भएको छ ।

धान रोपाइको मुख्य समयमा पनि पानीको अभावमा किसानहरु आकाश ताकेर बस्न बाध्य भएका हुन् । विगत एक महिनायता पानी नपरेका कारण खेत सुख्खा छन् भने रोप्नकालागि तयार रहेको बीउ समेत सुक्न थालेको किसानहरु दुःखेसो सुनाउँछन् ।

बलानबिहुलका किसान रामकिसुन साहका अनुसार अझैं केही दिन पानी परेन भने धानको बीऊ नै सुक्ने अवस्था छ । थोरबहुत मोटर, पम्पिङ्गसेट इत्यादिको सहाराले केही खेत रोपिए पनि चर्को घामका कारण रोपिएका खेतमा धाजा फाट्न थालेको उनी बताउँछन् ।

‘रोपाइँका लागि तयार खेतमा घुलो उडिरहेको छ, धानको बीऊ खेतमै सुक्दैछ, रोपिएका खेतमा धाजा फाट्न थालेको छ’ उनी थप्छन् ‘किसानलाई हेर्ने कोही छैन, झुठा आश्वासन बाँड्नमै व्यस्त छन् हाम्रा जनप्रतिनीधिहरु ।’ रोपाई गर्न सकिएन भने वर्षभरि कसरी गुजारा चलाउने ? बालबच्चालाई के खुवाउने ? भनी चिन्ता सताउन थालेको किसान साहको दुःखेसो छ ।

सप्तरीका अधिकांश खेतमा भरपर्दो सिंचाइको अभाव रहेको पूर्व सिंचाईमन्त्री उमेश कुमार यादव बताउँछन् । तीनै तहको सरकारले कृषि र सिंचाईलाई प्राथमिकता दिनुपर्नेमा सबै तहले उपेक्षा गरेको उनको तर्क छ । किसानलाई सिंचाई मात्र होइन, मलखादको समेत अभाव झेल्नुपरेको छ । अन्न उब्जाएर पाल्ने अन्नदाताहरुको समस्याप्रति तीनै तहको सरकारले स्थायी समाधान खोज्नुपर्ने पूर्वमन्त्री यादवको भनाइ छ ।

सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये करिब ६८ हजार हेक्टरमा हरेक वर्ष धान रोपाइ हुन्छ । यस वर्ष असार महिनाभरि वर्षा नहुँदा हालसम्म करिब १२ देखि १५ प्रतिशत मात्र रोपाइ भएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्क छ । कृषि विज्ञहरूका अनुसार अझैं पनि एकदुई साताभित्र वर्षा नभए रोपाइ प्रभावित भई उत्पादन समेत घट्ने आंकलन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस