बारा, २९ असार । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतविरुद्ध ‘जनसंवाद अभियान’ सञ्चालनमा रहेका पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि मोसो छ्यापिएको छ।
शुक्रबारदेखि अभियानमा रहेका साह, यादवलगायत नेताहरूलाई कार्यक्रमका क्रममा बारामा मोसो छ्यापिएको हो। घटनामा पार्टीकै केही कार्यकर्ताको संलग्नता रहेको खुलेको छ।
निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफूहरूमाथि मोबिल र पेट्रोल छर्केर आगो लगाउने प्रयास समेत भएको दाबी गरेका छन्। उनका अनुसार, आफूहरू जनमत पार्टीका नेता तथा कार्यकर्तासँग संवाद गर्न बारा पुगेका थिए, तर त्यहाँ डा. सिके राउत पक्षधर कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन्।
जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेलले निलम्बित नेताहरूले पार्टीको झन्डा र ब्यानर प्रयोग गर्दै कार्यक्रम गर्नु गैरकानुनी भएको बताउँदै, उनीहरूमाथि कार्यकर्ताहरूले कालोमोसो छरेको स्वीकार गरेका छन्।
‘पार्टीले कारबाही गरिसकेको नेताले पार्टीको नाम, लेटरप्याड, झन्डा र ब्यानर प्रयोग गर्न पाउँदैन,’ इन्चार्ज पटेलले भने, ‘उनीहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गरिएको छ।’